पार्टीसँग छलफल नगरी मन्त्री बनेको भन्दै एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

पार्टीसँग छलफल नगरी मन्त्री बनेको भन्दै एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

काठमाडौँ : एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री दीपक मनाङेलाई स्पष्टीकरण भएको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गरेकाले हाम्रोतर्फबाट मन्त्री पनि बन्नुभयो। तर अहिले कुनै छलफल नै नगरी उहाँ समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न जानुभयो’, सचिव जीवनराम श्रेष्ठले भने, ‘उहाँलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका छौ।’

मनाङ ‘ख’बाट निर्विरोध निर्वाचित भएका मनाङे ०७९ मंसिर १९ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए।

मनाङे आफ्नो दलको सांसद रहेको भन्दै एकीकृत समाजवादीले प्रदेशसभा सचिवालयलाई अभिलेख राखिदिन पत्राचार गरेको थियो। सो पत्रअनुसार नै मनाङे आइतबारसम्म एकीकृत समाजवादीको सांसदको हैसियतमा थिए।

तर, आइतबार उनले निर्विरोध निर्वाचित भएका कारण आफू स्वतन्त्र नै रहन चाहेको मनसायसहितको निवेदन प्रदेशसभा सचिवालयमा दिए पनि निर्णय भइसकेको छैन।

चैत ७, २०८० बुधबार १८:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।