रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, १५ गते सजाय तोकिने

रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपाने सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, १५ गते सजाय तोकिने

काठमाडौं : रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन्।

सेयरको भित्री कारोबार गरेकोमा उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो।

न्यौपाने अध्यक्ष रहेको समयमा रिडी पावर कम्पनीमा भित्री कारोबार  गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा १ करोड ९९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले कात्तिक २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

न्यौपानेले सम्पत्ति शुद्धीकरणनिवारण ऐन २०६४ विपरीत कार्य गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो। सेयरको भित्री कारोबारसम्बन्धमा विभागले दायर गरेको यो पहिलो मुद्दा हो।

उनले इनसाइड ट्रेडिङबाट गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय निर्धारणका भने चैत्र १५ गते तोकिने अदालतले जनाएको छ।

चैत ७, २०८० बुधबार १३:४५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।