जब प्रतिनिधि सभा बैठकमै प्रेम सुवालसँग झोक्किए सभामुख घिमिरे

जब प्रतिनिधि सभा बैठकमै प्रेम सुवालसँग झोक्किए सभामुख घिमिरे

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टीका सांसद प्रेमकुमार सुवालसँग झोक्किएका छन्।

आकस्मिक समयमा बोल्दै गरेका उनले नेपाल टेलिकमको फोनमा समस्या भएको र नेपालगञ्जमा स्वास्थ्य सेवामा समस्या भएको विषयको उठान गरेपछि सभामख घिमिरेले उनलाई बीचमै रोकेका थिए।

सभामुखले ‘माननीय सदस्य यहाँका विषयहरू आकस्मिक समयभित्र आजैका हिजोका घटनाहरूमा आकर्षित भएको पाइएन, त्यसैले माननीय सदस्यलाई आसन ग्रहण गर्न आग्रह गर्दछु’ भनेपनि सुवालले हिजोकै घटना हो भनेका थिए।

उनले बोली सक्न नपाउँदै सभामुख घिमिरे झोक्किँदै ‘माननीय सदस्य आसन ग्रहण गरौं’ भने। त्यसपछि भने सभामुखले आफूले ठूलै स्वरले बोलेको महसुस गरे अनि पुनः भने, ‘बसौं, माननीय सदस्य आसन ग्रहण गरिदिनुस्।’

त्यसपछि सांसद सुवालले मर्यादाका साथ कुरा गर्न आग्रह गर्दै रिसाएपछि सभामुख घिमिरेले ‘मर्यादाका साथ भनेको छु माननीय सदस्य, आसन ग्रहण गरौं।’

सुवालले सभामुखमाथि प्रश्न उठाउन नछाडे पनि सभामुखले अम्बरबहादुर थापालाई बोल्ने समय दिएका थिए।

चैत ७, २०८० बुधबार १२:१८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।