रविविरुद्ध छानबिन गर्न आगामी बैठकसम्म संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम

रविविरुद्ध छानबिन गर्न आगामी बैठकसम्म संसदीय समिति गठन गर्न कांग्रेसको अल्टिमेटम

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले सहकारी ठगीको विषयमा गृहमन्त्री लामिछानेलाई लागेको आरोपमाथि संसदीय छानबिन समिति गठन गर्न अर्को बैठकसम्मको अल्टिमेटम दिएको हो।

उनले प्रधानमन्त्रीले प्रमाण छैन भने पनि आफूहरूसँग यथेष्ट प्रमाण रहेको भन्दै आगामी बैठकसम्म सरकार समिति गठन गर्न तयार नभए सदन सत्तापक्षले अवरोध गरेको हुने ठहरिने बताइन्।

‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले हैन, उहाँहरुलाई सदन चाहिएको रैन्छ, जनताको काम चाहिएको रैन्छ भन्ने हामीले बुझ्नेछौं।’

गृहमन्त्रीले ‘प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ’ भनेकोप्रति पनि उनले आपत्ति जनाइन्।

‘प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ? त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवारपूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा सदन उहाँलाई चाहिएको छैन होला। हामीलाई चाहिएको छ।’

बजेटको छलफलको विषयमा आफूहरूले सदन अवरुद्ध नगर्ने भन्दै उनले छानबिन समिति गठन गर्न किन डराउनुपर्यो भनेर प्रश्न गरेकी छन्।

‘हिजो पनि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने? के उहाँ स्वर्गबाट आएको हो?’

चैत ७, २०८० बुधबार १२:००:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।