आईसीसीका अध्यक्षले आज प्रधानमन्त्रीसहित अर्थ र खेलकुद मन्त्रीसँग भेट्दै
काठमाडौं : नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कले आज प्रधानमन्त्रीसहित दुई मन्त्रीलाई भेट्दैछन्।
बार्कले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अर्थमन्त्री वर्षमान पुन र युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठसँग सिंहदरबारमा भेट गर्ने कार्यतालिका छ।
भेटमा नेपालमा क्रिकेटको सम्भावना र त्यसमा सरकारले गर्ने लगानीको बारेमा कुराकानी हुने बताइएको छ।
पहिलो पटक नेपाल भ्रमणमा आएका आईसीसी अध्यक्षले नेपालमा धेरै प्रतियोगिता आयोजना गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मंगलबार त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानको निरीक्षण गरे।
उनले यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङसँग भेट गरेका थिए।
आईसीसीले यसअघि नै नेपाललाई सन् २०२७ को आईसीसी यू-१९ महिला टी-२० विश्वकपको सह-आयोजकको जिम्मा दिइसकेको छ। बाङ्ग्लादेशसँग मिलेर नेपालले सो प्रतियोगिता आयोजना गर्नेछ।
उमेर समूहको भए पनि आईसीसीले नेपाललाई दिएको यो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर हो।
आईसीसी अध्यक्षले त्यसको लागि पनि नेपालका मैदान भ्रमण गर्न चाहेका थिए। त्यसैले भारतमा भर्खरै सम्पन्न विमिन्स प्रिमिअर लीग हेर्न भारत आएका बेला बार्कलेले नेपाल भ्रमणको तालिका मिलाएको बताइएको छ।
चैत ७, २०८० बुधबार ०९:२३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।