आईपीएलमा पहिलो पटक स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिने

आईपीएलमा पहिलो पटक स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिने

एजेन्सी : २२ मार्चदेखि सुरू हुने विश्वकै सबैभन्दा ठूलो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)मा स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिने भएको छ।

यसले निर्णय प्रक्रियालाई गति दिने र निर्णयहरूलाई अझ सटीक बनाउने बताइएको छ। स्मार्ट रिप्ले प्रणालीमा टिभी अम्पायरले हक-आई अपरेटरबाट प्रत्यक्ष जानकारी पाउनेछन्। यसपटक देखि अपरेटर र टिभी अम्पायर दुवै एकै कोठामा बस्ने ईएसपीएनले जनाएको छ।

नयाँ प्रणालीसँगै टिभी अम्पायरले बढी भिजुअल हेर्ने सुविधा पाउनेछन्। यसअघि ब्रोडकास्ट निर्देशकले देखाएका सिनहरू मात्र टिभी अम्पायरले हेर्न पाउँथे।

प्रत्येक खेलमा आठ वटा हक-आई क्यामेरा जडान गरिएको हुन्छ। २०२३ को आईपीएल अघि हक-आईलाई मुख्यतया बल ट्र्याकिङ र अल्ट्रा एजका लागि प्रयोग गरिन्थ्यो।

स्टम्प र ब्याटको किनारा हेर्नु बाहेक, ब्रोडकास्टरले प्राय: आफ्नै क्यामेरा फुटेज प्रयोग गर्थे। जसमा स्टम्पिङ, रनआउट, क्याच र ओभरथ्रो समावेश थियो।

इंग्ल्यान्ड क्रिकेट बोर्डले यसअघि ‘द हन्ड्रेड’मा यस्तै रेफरल प्रणालीको परीक्षण गरेको थियो।

बीसीसीआईले गत आइतबार र सोमबार मुम्बईमा छनोट भएका अम्पायरहरूसँग दुई दिने कार्यशाला सञ्चालन गरेको थियो। आईपीएल २०२४ मा भारत र विदेशका अम्पायरहरू सहित कुल १५ अम्पायरहरूले स्मार्ट रिप्ले प्रणालीमा काम गर्ने बताइएको छ।

चैत ७, २०८० बुधबार ०७:५७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।