संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।

प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्ने तय हुँदा राष्ट्रिय सभाको बैठक सवा ११ बजेका लागि डाकिएको छ।

आजको प्रतिनिधि सभाको सम्भावित कार्यसूची तय भइसकेको छैन।

मंगलबारको बैठकमा नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै सहकारी ठगीको आरोपमाथि छानविन गर्न संसदीय समिति गठनको माग गरेको छ।

मंगलबार संसद् भवनबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका सांसदहरूले संसदीय समिति गठन नभए संसद् अवरोध गर्ने चेतावनी दिएका छन्।

यस्तै आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची तय भएको छ।

यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ। 

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने पनि कार्यसूची छ।

अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

७ चैत, २०८०, ०७:२९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।