‘महाजात्रा’ हेरेर आफ्नो अभिनयमा त्यति खुसी नभएका विपिनले भने 'कुरा बुझेको भए अझैँ राम्रो गर्थेँ
काठमाडौँ : फिल्म ‘जात्रा’को सिक्वेलका फणीन्द्र अर्थात् विपिन कार्की मंगलबार महाजात्रामा आफ्नो अभिनय हेरेर त्यति खुसी भएनन्।
सिभिल मलको हलमा भएको फिल्मको प्रिमियर शोमा विपिन पुरै समय बसेर फिल्म हेरे। फिल्म हेर्न समयमै पुगेका उनले फिल्म हेरिसकेपछि फिल्म आफ्नो कमीकमजोरी भेटेको लुकाएनन्।
फिल्म राम्रो बनेको भन्दै उनले आफूले अझैँ अभिनय गर्न सक्ने ठाउँहरू प्रशस्त भेटेको बताए।
‘जति मैले अभिनय गरेको थिए, अलिक अगाडि कुरा बुझेको भए अझ राम्रा राम्रा चिजहरू गर्न सक्थेँ। अरूकोमा हैन मेरो आफ्नैमा पनि काम गर्न सकिन्थ्यो भन्ने लाग्छ। मैले वर्क आउट गरेर, बुझेर काम गरेको भए यो भन्दा बेटर गर्न सक्थेँ भन्ने लाग्छ’ उनले भने।
महाजात्राको प्रिमियरमा अधिकांश हाँस्यकलाकारहरुको सङ्ख्या बढी थियो। हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला,सन्तोष पन्त,मदनकृष्ण श्रेष्ठ,ऋचा शर्मा,भरतमणि पौडेल लगायतहरु फिल्म हेर्न आएका थिए।
अभिनेत्री केकी अधिकारी,निशा अधिकारी,गायक तथा नायक प्रकाश सपुत लगायत दर्जनौँ कलाकारहरूले फिल्म हेरे। उनीहरूले फिल्म राम्रो बनेको भन्दै लेखक तथा निर्देशक प्रदीप भट्टराइसँगै कलाकार हरिवंश आचार्य,विपिन ,वर्षा राउत लगायतको प्रशंसा गरेका थिए।
फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य आफ्नो भूमिका देखेर आफै दङ्ग देखिन्थे। उनी फिल्मको प्रिमियर सकेपछि बाहिर पत्रकारसँग आफ्नो भूमिका आफूलाई मन परेको भन्दै अभिनेता विपिनको तारिफ गर्न भ्याए।
फिल्म जात्रामा चोरीको पैसाको कथा भनेका प्रदीपले जात्रैजात्रामा सुनको कथा भनेका थिए। महाजात्रामा उनले कालोधन मार्फत राजनीतिक व्यङ्ग्यको कथा बोकेर आएका छन्। फिल्म चैत ९ मा रिलिज हुँदैछ।
चैत ६, २०८० मंगलबार २३:१६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।