‘खेलकुदको बजेट झिँगाको टाउको जति छ, तर पनि काम गर्न सकिन्छ भन्ने लागिरहेको छ’

‘खेलकुदको बजेट झिँगाको टाउको जति छ, तर पनि काम गर्न सकिन्छ भन्ने लागिरहेको छ’

काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा सीमित स्रोत साधनका बीचमा काम गर्नुपर्ने चुनौती रहेको बताएका छन्।

काठमाडौंमा मंगलबार आयोजित एक अन्तरक्रियामा उनले मन्त्रालयमा बजेट थोरै भएको भन्दै यस्तो अवस्थामा पनि एकीकृत भएर लागे सफल हुन सकिने बताए।

उनले भने, ‘खेलकुद मन्त्रालयको बजेट झिँगाको टाउको जति छ, त्यसमा पनि जम्मा ४ प्रतिशत प्रशासनिक खर्चमा मात्र मन्त्रालयले चलाउनु पर्छ। तर, मलाई के कुरा साबित गर्न मन लागेको छ भने एकीकृत भएर लाग्ने हो भने काम गर्न सकिन्छ। स्रोत साधनको विषयमा नेपालमा सबैले गुनासो गरि नै रहेका हुन्छन्, मलाई त्यसलाई पनि एकपटक चुनौती दिन मन लागेको छ।’

उनले अवसर र चुनौती भन्ने कुरा सँगसँगै आउने विषय भएको भन्दै नीतिभित्र बसेर गर्न सक्ने कामको सुरुवात गरेको पनि बताए।

उनले भने, ‘अवसर र चुनौती भन्ने कुरा सँगसँगै हुने रहेछ, यसमा काम गर्दै जाँदा कति नीतिगत कुराहरू बुझेर खाडलहरू पुर्नुपर्ने छ, यसको साथै बेथितिको कमी छैन। तर, केही प्रयासहरू गर्ने हो भने परिवर्तनहरू आउने रहेछ। यही नीतिभित्र बसेर गर्न सक्ने कामबाट सुरुवात गरेको छु।’

खेलक्षेत्र प्रतिको घट्दो प्रभावलाई सुधार गर्ने प्रयासमा रहेको भन्दै त्यसमा युवा सहभागी र नवीनतम् सोचको आवश्यकता भएको उनको भनाइ छ।

चैत ६, २०८० मंगलबार १८:३८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।