८ महिनामा ९ खर्ब बढीको व्यापार घाटा, १० खर्ब बढीको आयात हुँदा निर्यात कति?
काठमाडौँ : चालू आर्थिक वर्षको ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २.६६ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, चालू आर्थिक वर्षको ८ महिनामा निर्यातमा पनि कमी आएको छ। ८ महिनामा १ खर्ब ६१ करोड रुपैयाँको अर्थात् ३.९९ प्रतिशतले निर्यात घटेको हो। गत वर्षको सोही अवधिमा निर्यात १ खर्ब ४ अर्ब रुपैयाँको भएको थियो।
८ महिनाको अवधिमा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५२ प्रतिशत कम हो। गत आवको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो।
यो अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। गत आर्थिक बर्ष सोही अवधिको तुलनामा यो २.७८ प्रतिशत कम हो। गत आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड रहेको थियो।
त्यस्तै, तथ्यांक अनुसार सबैभन्दा धेरै व्यापार घाटा छिमेकी मुलुक भारतसँग छ। आयात–निर्यात दुवैमा भारत अगाडि छ। आठ महिनामा भारतबाट नेपालमा ६ खर्ब ३८ अर्ब रुपैयाँको सामान आयात भएको छ।
नेपालबाट ६८ अर्ब ५१ करोड रुपैयाँको वस्तु भारतमा निर्यात भएको छ। भारतसँग ५ खर्ब ६९ अर्ब बराबर व्यापार घाटा रहेको देखिन्छ।
उत्तरी छिमेकी चीनसँग १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर व्यापार घाटा रहेको छ। त्यहाँबाट १ खर्ब ९४ अर्बको वस्तु आयात भएको छ। चीनमा नेपालबाट भने १ अर्ब ९५ करोडको मात्र वस्तु निर्यात भएको छ।
आठ महिनामा नेपालले १ सय ५८ भन्दा धेरै देशसँग व्यापार गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार ८ महिनाको अवधिमा सरकारले भन्सार मार्फत २ खर्ब ७० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
पेट्रोलियम पदार्थबाट सबैभन्दा धेरै राजस्व उठेको छ। यसबाट सरकारले ७६ अर्ब ४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।
चैत ६, २०८० मंगलबार १४:४२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।