न्यूयोर्कमा मन्त्री भगवती चौधरीको सम्बोधन, ‘विश्वभरका पुरुषको तुलनामा महिलाले उच्च गरिबी अनुभव गर्छन्’

न्यूयोर्कमा मन्त्री भगवती चौधरीको सम्बोधन, ‘विश्वभरका पुरुषको तुलनामा महिलाले उच्च गरिबी अनुभव गर्छन्’

काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको बताएकी छन्।

गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मललगायतको संकट र चुनौती पुरुषले भन्दा बढी महिलाले भोग्नुपरेको बताएकी हुन्।

अमेरिकाको न्यूयोर्कमा जारी युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै मन्त्री चौधरीले महिलाले विश्वको आधा जनसंख्याको आधा सम्भावना बोकेको भएता पनि विश्वव्यापी लैङ्गिक समानता हासिल गर्न चुनौतीहरू रहेको बताए।

‘सेक्युरिटी जनरलको रिपोर्टले काम गर्ने समय, रोजगारी, वित्तीय समावेशीकरण, वित्तीय स्रोतमा पहुँच र सामाजिक सुरक्षामा महिला र पुरुषबीचको ठूलो अन्तर देखाउँछ। सामाजिक सुरक्षा, समावेशी दिगो विकास लक्ष्य हासिल गर्न लैङ्गिक समानता, महिला सशक्तीकरण महत्त्वपूर्ण रहेको छ’, नेपालले महिला र युवतीहरूको अधिकार र मुद्दालाई सधैं उच्च प्राथमिकतामा राखेको भन्दै चौधरीले भनिन्।

नेपालको संविधानले महिला र युवतीहरूको पारिवारिक मामिला र सम्पत्तिको हकलगायत मौलिक हकको प्रत्याभूति गरेको भन्दै मन्त्री चौधरीले नेपालमा महिला र युवतीहरूको संघीय र प्रादेशिक संसदको ३३ प्रतिशत, स्थानीय सरकारमा ४० प्रतिशत सिटको ग्यारेन्टी गरेको उल्लेख गरिन्।

उनले अगाडि भनिन्, ‘हामीले हाम्रो विकास प्रयासमा लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकता दिएका छौं। १६औं पञ्चवर्षीय आवधिक योजनामा लैङ्गिक जवाफदेही शासन प्रणालीलाई समावेश गर्न प्रतिबद्ध छौं।’

मन्त्री चौधरीले जमिन र सम्पत्तिमा एक तिहाइ महिलाको स्वामित्व रहेको बताउँदै लघु, साना र मझौला उद्यममा महिलाहरूको सहभागिता बढिरहेको जिकिर गर्दै करिब ४५ प्रतिशत साना घरेलु उद्योगहरु महिलाहरूद्वारा सञ्चालित रहेको चर्चा गरिन्।

‘करिब ४५ प्रतिशत लघु, साना र मझौला उद्योगहरु महिलाद्वारा सञ्चालित छन्। सहकारीमा ५६ प्रतिशत महिला छन्। यसले आर्थिक स्वतन्त्रतालाई दिगो बनाउन योगदान गरेको छ,’ उनले भनिन्, ‘यति प्रगति भए पनि गरिबी सम्बोधन गर्न स्रोत साधन अभाव भएकाले असमानताहरू कायमै छ।’

साथै, मन्त्री चौधरीले नेपाल अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न, लैङ्गिक समानता र सबै महिला र युवतीहरूको सशक्तिकरण, शिक्षा, रोजगारी, उद्यमशीलता, स्रोत र सम्पत्तिमा समान पहुँच प्रदान गर्न, संस्था र क्षमताको कमीलाई सम्बोधन गर्न, महिला तथा बालिकाको विकासमा लगानी गर्न प्रतिबद्ध रहेको उल्लेख गरिन्।

चैत ६, २०८० मंगलबार ११:२७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।