महिला कर्मचारीलाई दुर्व्यवहार गरेपछि राष्ट्र बैंकका निर्देशक आचार्यलाई पदबाट हटाइयो

महिला कर्मचारीलाई दुर्व्यवहार गरेपछि राष्ट्र बैंकका निर्देशक आचार्यलाई पदबाट हटाइयो

काठमाडौं : नेपाल राष्ट्र बैंकमा कार्यरत एक उच्च तहकी अधिकृतमाथि दुर्व्यवहार गरेको पुष्टि भएपछि बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४) को परिच्छेद १३ को विनियम १४५ को (ख) मा भएको विशेष सजाय अनुसार भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बैंकको सेवाबाट हटाइएको सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए।

उनका अनुसार आचार्यले ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको अध्ययनबाट पुष्टि भएको छ। सोहीअनुसार कर्मचारी विनियमावलीमा भएको व्यवस्थाबमोजिम कारबाही गरिएको हो।

आचार्यले गत पुस २७ गते केन्द्रीय बैंकका उच्च अधिकारीको स्ट्रेस म्यानेजमेन्ट कार्यक्रममा ती कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए।

ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो। छानबिन क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटाएको हो। 

चैत ५, २०८० सोमबार २१:४४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।