अर्थमन्त्रीसमक्ष चेम्बरको १७ बुँदे माग, घरजग्गा कर्जा प्रवाहमा धितो मूल्याङ्कनको ७० प्रतिशत बनाउन आग्रह

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुनलाई पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन लगायत १७ बुँदे सुझाव दिएको छ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको टोलीले सोमबार पुनलाई बुझाएको सुझावमा नेपालमा आयात हुने वस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन माग गरिएको छ।
नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकाहरूमा उच्चस्तरीय क्वारेनटिन ल्याब स्थापना गर्नुपर्ने, पुँजीगत खर्चमा वृद्धि गर्नुपर्ने, उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्ने माग राखेको छ।
चेम्बरले बजारमा लगानीयोग्य रकम अधिक तरलता भएर लगानी आकर्षण हुन नसकेको भन्दै चेम्बरले पुँजी चलायमान एवम् आर्थिक गतिविधि विस्तार गर्ने खालको आगामी बजेट ल्याउन सुझाव दिएको छ।
मुलुकमा आइटी पार्क निर्माणका लागि सहज रूपमा जग्गा उपलब्ध गराउन र परियोजना सञ्चालनका लागि कर छुट लगायत अन्य सुविधा उपलब्ध गराउन, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु गरी आमउपभोग्य वस्तु र विलासिताका वस्तुहरूमा फरक दर कायम गर्न चेम्बरले माग गरेको छ।
घरजग्गा कारोबारमा जाने कर्जा प्रवाहमा धितो मूल्याङ्कनको ५० प्रतिशत प्रदान गर्ने व्यवस्थालाई संशोधन गरी ७० प्रतिशत पुर्याउन चेम्बर अधिकारीले आग्रह गरेका थिए।
चैत ५, २०८० सोमबार १६:५२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।