'सहकारी पीडितलाई न्याय दिलाउन नसकेकोमा हामीलाई बालेन र हर्कहरूले पनि गिज्याइरहेका छन्'
काठमाडौं : नेपाली कांग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसकिरहेको भन्दै सरकारको औचित्यमाथि प्रश्न गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने बताएका हुन्।
उनले सहकारी पीडितहरूले आफूहरूले न्याय कहिले पाउँछौँ भनेर सोधिरहेको उल्लेख गर्दै उनीहरुलाई न्याय दिलाउन नसक्दा बालेन साह र हर्क साम्पाङहरुले समेत गिज्याइरहेका बताए।
उनले सुन तस्करी प्रकरणमा आयोगको प्रतिवेदन र छानबिनबाट दोषीलाई कारबाही हुनुपर्ने बताएका छन्। यस्ता प्रकरणमा ठूला माछाको नाममा कसैले उन्मुक्ति पाउन नहुने उनको भनाइ छ।
उनले भने, ‘ती लाखौँलाख सहकारी पीडतहरूलाई न्याय दिलाउन नसक्ने हो भने हामी यो सरकारमा बस्नुको कुनै औचित्य रहँदैन। हामीलाई सहकारी पीडितले न्याय कहिले पाउँछौँ भनेर भनिरहेका छन्। बालेन र हर्कहरूले पनि हामीलाई गिज्याइरहेका छन्। हामी सत्तामा छौँ। सरकारमा छौँ। संघीय संसदमा छौँ। संसदमा बसेर हामीले कुरा उठाउँदै गर्दा पीडितले न्याय कहिले पाउने? हजारौँ सहकारी पीडितहरूले काठमाडौंको सडकमा आएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ। हरेक घटनाहरू हुन्छन् र हरेक घटनापछि आम जनताहरू सडकबाट पैदल यात्रा गरेर काठमाडौं शहरमा आएर आन्दोलन गर्नुपर्ने अवस्था हामीले कहिलेसम्म गर्ने हो? सुन प्रकरणमा आयोगको प्रतिवेदनबाट, छानबिनबाट जोसुकै दोषी हुन्, ती दोषीले कारबाही भोग्नुपर्छ। चाहे ठुलो माछा होस्। चाहे सानो माछा। कारबाही गर्ने कुरा सरकारको कुरा हो। दोषीहरू कोही नछुटुन्। हिजोअस्ति मात्रै जीवन चलाउने नाम गरेका व्यक्तिले दिल्लीबाट एउटा सनसनीपूर्ण भिडियो र अडियो रेकर्ड सार्वजनिक भएको छ। यदि जीवन चलाउनेले भनेको कुरा सत्य हो भने हामीले त्यसबारेमा छानबिन गर्नुपर्छ कि पर्दैन? जीवन चलाउनेले भनेको यदि सत्य हो भने सिआइबिकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे? आइजिपी बनाउँदा खेरी मलाई एक करोड पैसा चाहिन्छ भनेर एएटा व्यापारीसँग मोलाहिजा गर्ने काम कसरी हुँदैछ? यदि यसरी नै सिआइबिबाट अथवा अन्य अनुसन्धान गर्ने निकायबाट यसरी फरार अभियुक्तबाट दिन दहाडै होटल रेस्टुरेण्टमा बसेर मोलमोलाइ गर्न थाले जनताले न्याय पाउने अवस्था रहँदैन। जीवन चलाउनेको भिडियो आएपछि हामी सशंकित छौँ।’
चैत ५, २०८० सोमबार १६:०२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।