कांग्रेसले भन्यो- ‘ठगीमा मुछिएकैले निष्पक्ष अनुसन्धान गर्छ भनेर कसरी पत्याउने?’

कांग्रेसले भन्यो- ‘ठगीमा मुछिएकैले निष्पक्ष अनुसन्धान गर्छ भनेर कसरी पत्याउने?’
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए।

उनले भने, ‘सहकारीमा जसले ठगी गरेको छ, फेयर ढङ्गले अनुसन्धान होस्। अहिले प्रमाणहरू प्रहरीसँगै छ। एउटा पनि प्रमाण नास नहोस्। जो ठगीमै मुछिएको ऊ आफैँले अनुसन्धान गर्छ भनेर हामीले कसरी पत्याउने?’

थापाले जीबी राई लगायतको समूहले अर्बौं रुपैयाँ अपचलन गरेको भन्दै त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया र ग्यालेक्सी टेलिभिजनमा गएको बताए।

उनले थपे, मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान हुने हो भने।’

थापाले गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान टुङ्गिन दिन पनि आग्रह गर्दै नखाएको विष लाग्दाको पीडा आफूले पनि भोगेको बताए।

‘यसलाई टुङ्ग्याउन दिऊँ, दूधको दूध पानीको पानी हुन दिऊँ। नखाएको विष लाग्नुहुँदैन। त्यसको पीडा मैले पनि भोगेको छु। हामी कसैले पनि न्यायाधीश बनेर तँ दोषी हो भन्न पाउँदैनौं,’ उनले थपे, ‘यदि दोष छैन भने लान्छनाबाट मुक्ति पाउनुपर्छ, आरोपबाट मुक्ति पाउनुपर्छ। काम गर्न पाउनुपर्छ। नयाँ आउनुभएको मन्त्रीलाई काम गर्न दिनुपर्छ। हामी दिन्छौं काम गर्न। तर विष खाएको छ भने लाग्छ।’

उनले यसलाई राजनीतिक आग्रह नभएको भन्दै विभिन्न सहकारीमा लाखौं वचतकर्ताका अर्बौं रकम फिर्ता गराउन सक्ने कि नसक्ने भन्ने प्रश्न मात्र रहेको बताए। संसद सबैभन्दा बढी आफूहरूलाई चाहिएको भन्दै उनले प्रधानमन्त्रीको जवाफ चाहिएको बताए।

चैत ५, २०८० सोमबार १२:१४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।