महिन्द्र र गंगानारायणलाई जिम्मेवारी मुक्त गराउँदै बाबुराम

महिन्द्र र गंगानारायणलाई जिम्मेवारी मुक्त गराउँदै बाबुराम

काठमाडौँ : माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरूलाई नेपाल समाजवादी पार्टीले जिम्मेवारीबाट हटाउने तयारी गरेको छ। आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका अध्यक्ष महिन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने विषयमा छलफल गरेको हो।

यादव र श्रेष्ठले पार्टी माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थिए। पार्टीको सहमतिबिना उनीहरूले निर्णय गरेको भन्दै पार्टीको जिम्मेवारीबाट हटाउनेबारे पार्टीमा छलफल भएको हो।

नेसपाका प्रवक्ता कृष्ण शर्माले पार्टीको विधि र संगठनात्मक पद्धतिलाई छलेर माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेकाले उनीहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्न लागिएको बताए।

उनका  अनुसार यसका लागि सोमबार पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ। सोही बैठकले उनीहरूमाथि कारबाहीको निर्णय गर्ने तयारी गरिएको हो।

जनता समाजवादी पार्टीबाट अलग भएर डा बाबुराम भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरेका थिए। बाबुरामसँगै यादव समेत नेसपामा आएर अध्यक्ष भएका थिए। उनी माओवादीको चुनाव चिन्हबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।

गंगानारायण लामो समयदेखि बाबुरामसँगै छन्। माओवादीसँग पार्टी एकता गर्ने पक्षमा बाबुरामसहितको सहमतिमा समिति गठन भएर छलफल चलिरहे पनि पार्टीभित्र मतभेद बढेको थियो।

यादवसहितको समूह जुनसुकै अवस्थामा पार्टी एकताको पक्षमा उभिएका थिए भने बाबुराम नीतिसहितको सहमतिका आधारमा मात्र एकता गर्ने पक्षमा उभिएका थिए। दुवै पक्षबीच विवाद बढेपछि यादव र श्रेष्ठ मिलेर पार्टी एक गर्ने निर्णय गरेका थिए।

चैत ४, २०८० आइतबार २०:०६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।