टेलिकमको प्राविधिक विरुद्ध भ्रष्टाचार मुद्दा, डेढ करोड बिगोको माग

टेलिकमको प्राविधिक विरुद्ध भ्रष्टाचार मुद्दा, डेढ करोड बिगोको माग

काठमाडौँ : नेपाल टेलिकमको कर्मचारी भए पनि कार्यालयलाई जानकारी नै नदिई ठेक्काको काम गरेर भ्रष्टाचार गरेको आरोपमा निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत)  सिटौलाविरुद्ध १ करोड ६१ लाख बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले सिटौलामाथि कार्यालयमा हाजिर गरेर छुट्टै हिमडुङ एन्ड थोकर कन्ट्रक्सनमार्फत काम गरेको अभियोग लगाएको छ। उनले सूर्यबिनायक-धुलिखेल–सिन्धुलीबर्दिवास रोड प्रोजेक्टमा ठेक्का लिई प्रतिनिधिको रूपमा हस्ताक्षर गरेर भ्रष्टाचार गरेको अभियोग पत्रमा दाबी गरिएको छ।

नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, बमोजिम व्यापार व्यवसाय सञ्चालन गर्न वा बाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानुनी प्रावधान विपरीत एक करोड एकसट्ठी लाख गैर कानुनी व्यापार व्यवसाय गरेको देखिएको अख्तियारको दाबी छ।

आयोगले सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा एक करोड एकसट्ठी लाख बिगो कायम गरी आर्जन गरेको सम्पत्तिसमेत जफतको माग दाबी सहित अभियोग पत्र दर्ता गरेको छ।

चैत ४, २०८० आइतबार १८:२१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।