पोखरा नेपालको पर्यटकीय राजधानी, प्रधानमन्त्रीले गरे घोषणा
काठमाडौं : कास्कीको पोखरा सहरलाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा भएको छ।
आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन्। उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे।
उनले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन्।
पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो। उक्त गन्तव्य आजदेखि देशकै पर्यटनको लागि राजधानीको रूपमा नेपाल सरकारबाट घोषणा भएको हो।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरको निरन्तर दबाब सिर्जना गर्दै आएको थियो। प्रदेशले योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो।
समितिकै सिफारिसका आधारमा प्रदेश सरकारले फागुन २३ गतेको मन्त्रीपरिषद् बैठकबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो। विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको हो।
चैत ४, २०८० आइतबार १५:०३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।