जसपा सांसद मन्जु अन्सारीको निधन, संसदबाट शोक प्रस्ताव पारित

जसपा सांसद मन्जु अन्सारीको निधन, संसदबाट शोक प्रस्ताव पारित

काठमाडौं : प्रतिनिधिसभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ।

जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको हृदयघातका कारण काठमाडौंको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिस सुमनले जानकारी दिए।

समानुपातिक सांसद सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछि पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधि सभा सदस्य चुनिएकी थिइन्।

२०४६ सालमा तत्कालीन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन्। उनले २०५६ सालमा सद्भावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन्।

उनी २०६४ सालमा भएको मधेश विद्रोहमा सहभागी भएकी थिइन्।

यसैबीच, आइतबार बसेको प्रतिनिधिसभा बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

चैत ४, २०८० आइतबार १२:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।