'गठबन्धन फेरेपछि राजनीति सही ट्रयाकमा आयो, अब गण्डकीमा माओवादी नेतृत्वको सरकार बन्छ'

'गठबन्धन फेरेपछि राजनीति सही ट्रयाकमा आयो, अब गण्डकीमा माओवादी नेतृत्वको सरकार बन्छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता गठबन्धन बनेपछि देशको राजनीति सही ट्रयाकमा आएको बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले गण्डकी प्रदेशमा पनि माओवादीकै नेतृत्वमा सरकार बन्ने बलियो सम्भावना रहेको बताए।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आइतबार बिहान पार्टीका अगुवा नेता-कार्यकर्तासँगको भेटमा अब कामको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यलाई बलियो बनाउन निम्ति नयाँ समीकरण बनाएको जिकिर गरे।

उनले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’

प्रचण्डले गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउने बलियो आधार बनेको पनि बताए।

‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ,’ प्रचण्ड सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले माओवादीलाई सुदृढ गर्न हिमाल,पहाड तराई सबै क्षेत्रलाई समेट्ने गरी एकमहिने अभियान चलाउने उल्लेख गरे।

केन्द्रमा बनेको नयाँ गठबन्धनले संविधानको रक्षा र सुदृढीकरण सँगै वामपन्थी आन्दोलनको रक्षा गर्ने उनको दाबी छ।

‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने।

चैत ४, २०८० आइतबार ०९:०५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।