विराटनगरको रोजगार मेलामा ४१ सय आवेदन, ५ सय रोजगारी सिर्जना

विराटनगरको रोजगार मेलामा ४१ सय आवेदन, ५ सय रोजगारी सिर्जना

काठमाडौं : विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ मा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ।

दुई दिनसम्म सञ्चालन भएको मेलामा रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए। आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तवार्ता दिएका छन्।

अन्तवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ।

रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाइ कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सिइओ) सम्मको माग भएको छ।

सबैभन्दा बढी बजार व्यवस्थापक (मार्केटिङ) मा माग भएको महानगरको रोजगार शाखाका संयोजक कपिल थापाले जानकारी दिए ।

समापन कार्यक्रममा बोल्दै महानगरका मेयर नागेश कोइरालाले दुई दिनको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना हुनु खुसीको कुरा भएको बताए।

‘महानगर रोजगार मेला भव्य रुपमा सम्पन्न भएको छ। यो मेलालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक आभार पनि व्यक्त गर्दछु,’ मेयर कोइरालाले भने, ‘भविष्यमा अझै भव्य मेला आयोजना गर्न हौसला प्राप्त भएको छ।’

कार्यक्रममा उपमेयर शिल्पा निरौला कार्कीले महानगरले आयोजना गरेको रोजगार मेला अत्यन्तै उपलब्धिमूलक भएको बताइन्। उनले ४ हजारभन्दा बढीले आवेदन दिएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको उल्लेख गरिन्।

स्वीस कन्ट्रयाक (आस्मा) नेपालको सहयोगमा सञ्चालित दुई दिने मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश थिए।

चैत ४, २०८० आइतबार ०७:३६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।