'स्थापनाकालमा कांग्रेस, एमालेमा पनि रास्वपाको जस्तै ४० मुनिका नेताहरू थिए, समस्या ५/६ जना पूर्वप्रधानमन्त्रीमा छ'
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा ५/६ जना पूर्वप्रधानमन्त्री अहिले पनि सक्रिय राजनीतिमा रहेको उल्लेख गर्दै युवा नेता पार्टीमा बलियो बन्न नसकेको बताएका छन्।
'जतिजति नेताहरू उमेरले बुढो हुँदैछन्, त्यति नै पार्टीभित्र बलियो हुँदैछन्,' शनिबार बाह्रखरी मिडियाले पोखरामा आयोजना गरेको योङ लिडर्स विथ इन्टरप्रेनर्स कार्यक्रममा महामन्त्री थापाले भने, 'अबको १५/२० वर्षपछि म पनि पार्टीभित्र त्यही अवस्थामा पुग्छु किनभने म त्यतिबेलासम्म पार्टीभित्रका संस्थामा बलियो हुन्छु। कति साथीलाई टिकट दिन्छु, कतिलाई मन्त्री बनाउँछु। नेविसंघ र तरुण दलमा मेरो प्रत्यक्ष उपस्थिति हुन्छ।' यसले पार्टीभन्दा पनि व्यक्ति बलियो हुने भन्दै यो परिपाटी रहेसम्म देश बलियो नहुने उनको भनाइ छ।
स्थापना कालमा कांग्रेस, एमाले अहिलेको रास्वपाजस्तै सबै नेता ४० वर्ष मुनिका रहेको उनले स्मरण गरे।
'युवा-युवाभन्दा पहिले हामीलाई छोयो, हामी पनि युवा नै थियौँ,' उनले थपे, 'राजनीतिक दलभित्र व्यक्तिको प्रवेशका सन्दर्भमा अनेकौं प्रावधान राखेका छौँ। तर छोड्नेबारे राखेका छैनौँ।'
उनले व्यक्ति उमेरभन्दा पनि विचारले युवा हुने तर नेपालका राजनीतिक दलमा युवा विचार बोक्ने नेतृत्व छ कि छैन भन्ने प्रश्न रहेको बताए।
'युवाको कुरा गर्दा पहिले हामीलाई छोयो । हामी पनि युवा नै थियौँ,' महामन्त्री थापाले भने, 'राजनीतिक दलभित्र व्यक्तिको प्रवेशका सन्दर्भमा अनेकौं प्रावधान राखेका छौँ। तर छोड्नेबारे राखेका छैनौँ। यतिधेरै पूर्वप्रधानमन्त्री राजनीतिमा रहेको डेमोक्रेसी कहीँ छैन।'
महामन्त्री थापाले राजनीतिक दलको सुधार नभए अरु सुधार नहुने भएकाले आफू संघर्ष गर्दै आएको बताए।
'पार्टी सबैको सार्वजनिक संस्था हो। पार्टीले नेतृत्व कसरी छान्ने, केन्द्रीय सदस्य कति बनाउनेजस्ता सुधार गरौँ भनेर मैले मेरो पार्टीभित्र प्रस्ताव लगेको छु,' महामन्त्री थापाले भने, 'नेपाली कांग्रेसले यसलाई स्वीकार गर्यो भने पार्टीमा सुधार हुन्छ।'
आफूले पार्टीमा दुई पटकभन्दा बढी सभापति नहुने प्रस्ताव लगेको भन्दै कांग्रेस महामन्त्री थापाले भने, 'दलमा पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने नीति बनाएको भए केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, शेरबहादुर देउवा कोही पनि अहिले प्रधानमन्त्री बन्न दौडिने थिएनन्।'
सशस्त्र द्वन्द्व सकिएको, संविधान बनिसकेको र शान्ति स्थापना भइसकेको अवस्थामा अहिले समस्या के हो भनेर पहिचान गरेर अगाडि बढ्नु आवश्यकता भएको उनको भनाइ छ।
देशमा सबै कुरा सकियो, यहाँ बस्न सकिँदैन भन्ने भाष्य हटाउनुपर्ने उनको जोड छ।
देशमा नै केही गर्न सकिन्छ भन्ने प्रमाणित गर्नुपर्ने बताउँदै महामन्त्री थापा भन्छन्, 'हामी नेपाल बस्नेहरू हाम्रो छनोट गलत थिएन भन्ने सावित गर्न चाहन्छौं। त्यसको बाटो खोज्नु पर्छ।'
चैत ३, २०८० शनिबार १६:३२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।