'टालाटुली बटुली अन्त्य गरौं, कांग्रेस र एमाले मिलेर अघि बढौं'

'टालाटुली बटुली अन्त्य गरौं, कांग्रेस र एमाले मिलेर अघि बढौं'

काठमाडौं : सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद् अवरुद्ध पारिरहेका बेला कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी संसद्लाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन्।

शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले कानुन निर्माण गर्ने थलो संसद्लाई ‘बन्धक’ बनाएर नराखी सञ्चालन गर्न कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताए।

‘अहिले संसद्मा अलिकति खच्याकखुचुक भएको तपाईंहरूले देख्नुभएको छ। संसदीय व्यवस्था हो। कहिले माननीय मन्त्रीजीहरूले हिजो, अस्तिसम्म भन्नुहुन्थ्यो- आज हामीले भनेका छौँ,’ उनले भने, ‘तर, हामी यति प्रतिबद्धता जाहेर गर्न चाहन्छौं- हामी संसद्लाई बन्धक बनाएर जनताको कानुन निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन, एउटा संसदीय पद्धतिअनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔं।’

राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित गराउन सके मुलुकलाई स्थिर सरकार दिन सकिने उनको तर्क छ। त्यसका निम्ति पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको उनले बताए।

‘...म अनुरोध गर्न चाहन्छु- केही कुराहरूमा तपाईं हामी (कांग्रेस–एमाले) मिलौँ । देश निर्माण गर्ने कुरामा अघि पनि भनेँ- पार्टीभन्दा माथि उठौँ। संविधानमा केही कुरामा संशोधन गरौँ,’ उनले भने, ‘समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔँ। प्रतिनिधिसभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौँ। स्थिर सरकार बन्न सक्छ। नभए स्थिर सरकार नबन्ने भयो। सधैँ टालाटुली बटुली। तपाईंले एउटालाई तान्ने, मैले एउटालाई तान्ने। तानातान गर्ने काम केही नहुने। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने चाहेँ।’

चैत ३, २०८० शनिबार १५:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।