पुस्तक बेच्ने सहकारी
बुटवल : नयाँ शैक्षिक सत्र सुरू हुन लागेसँगै पाठ्यपुस्तक अभाव हुन नदिन बुटवलको एक सहकारीले पाठ्यपुस्तक बिक्री थालेको छ।
अधिकांश सहकारीहरूले बचत तथा क्रृणको कारोबार गर्ने गरेपनि बुटवलमा रहेको सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडले भने पाठ्यपुस्तक तथा मसलन्दको बिक्रि वितरण थालेको हो।
सिर्जनशिल प्रकाशन तथा मसलन्द सहकारी संस्थाले आउँदो शैक्षिक सत्रका लागि ४० हजार सेट पाठ्यपुस्तक बिक्री गर्दैछ।
शैक्षिक सत्रको कक्षा सुरू हुनुअघि नै विद्यार्थीहरूको हात-हातमा किताब पुर्याउने उद्देश्यले स्थापना भएको सहकारीले सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण शुरू गरेको हो।
सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडका अध्यक्ष मनहरि बस्यालले यो वर्षका लागि ४० हजार अंग्रेजी र नेपाली माध्यमका पाठ्यपुस्तक बिक्रीका लागि तयारी अवस्थामा रहेको बताए।
सिर्जनशील संस्थाले निजी मुद्रण उद्योगले प्रकाशन गरेका कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयका नेपाली र अंग्रेजी माध्यमका पुस्तक बिक्री गर्दै आएको छ।
‘अहिलेको चालु शैक्षिक सत्रमा पनि हामीले ४० हजार सेट बिक्री गरेका थियौं। अब वार्षिक परीक्षा लगत्तै नयाँ शैक्षिक सत्र सुरू हुने भएकाले किताबको बिक्री खुल्ला गरेका हौँ’, उनले भने।
सिर्जनशील संस्थाले साविक पश्चिमाञ्चल क्षेत्रका १६ वटा जिल्लामा पाठ्यक्रम विकास केन्द्रले तयार गरेका कक्षा १ देखि कक्षा ५ सम्मका पाठयपुस्तक र मसलन्द सामग्री बिक्री गर्दै आएको छ। सरकारले कक्षा ५ सम्मका पाठ्यपुस्तक नि:शुल्क दिँदै आएको छ।
संस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद पाण्डेले नेपाल सरकारको तोकेको मूल्यमा पुस्तकको थोक बिक्रेताहरूलाई आफूहरूले पुस्तक बिक्री गर्दै आएको बताए।
‘हामी फुटकर पुस्तक बिक्री गर्दैनौं। थोक पुस्तक व्यापारीलाई बिक्री गर्छौं। हामी सिधा स्कुललाई पनि पुस्तक बिक्री गर्दैनौं’, उनले भने।
सिर्जनशील संस्थाले पुस्तक बिक्रीका अलवा मसलन्द सामग्री र साहित्यिक पुस्तक उत्पादन र बिक्री गर्ने गरेको छ।
अहिले नीजि मुद्रणले उत्पादन गरेका पुस्तकहरू बिक्री गर्ने गरेको संस्थाले अबको केही वर्षभित्रै आफैँले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत लिई पाठ्यपुस्तक छपाई गर्ने योजना पनि बनाएको छ।
त्यसका लागि अहिले पुँजी संकलन भइरहेको संस्थाका उपाध्यक्ष दिवाकर घिमिरेले बताए।
संस्थाले यसै वर्षदेखि पर्यटन प्रवर्द्धनलाई समेत टेवा पुग्ने गरी गुणस्तरिय कापी समेत बजारमा ल्याएको छ। लुम्बिनी प्रदेश भित्रका पर्यटकीय गन्तव्यहरूको जानाकारी विद्यार्थीहरूलाई दिने उद्देश्यले पर्यटकीय क्षेत्रको कभर भएका तस्बिर सहित कापी उत्पादन गरिएको उनले बताए।
यो वर्ष सिर्जनशील कापी ५ लाख विद्यार्थीको हातमा र्पुयाउने लक्ष्य रहेको उनको भनाइ छ।
११३ जना शेयर सदस्य रहेको संस्थाका १० करोडको पुँजी छ । संस्थाका कोषाध्यक्ष रामकृष्ण चापागाईंले बचत तथा क्रृणको कारोबार गर्ने अन्य सहकारी भन्दा पृथक संस्था भएकाले यसमा लगानी भएको पुँजी सुरक्षित भएको बताए।
‘हामीसँग पाठ्यपुस्तक बिक्री गर्ने व्यवसायदेखि लेखकहरू संस्थामा हुनुहुन्छ। अहिले सहकारी अपचलन भएका कुराहरू बाहिर आएपनि यो पृथक रहेकालेर् संस्था ढुक्कका साथ अगाडि बढेको छ’, उनले भने।
चैत ३, २०८० शनिबार १४:३९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।