निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी हुन्छ : अर्थमन्त्री पुन

निर्माण व्यवसायीको ४० अर्ब तत्काल भुक्तानी हुन्छ : अर्थमन्त्री पुन

काठमाडौं : सरकारले निर्माण क्षेत्रका काम सकेर पनि भुक्तानी नपाएका ठेकेदारहरूको ४० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिने तयारी गरेको छ।

शनिबार अर्थमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा ४० अर्ब रुपैयाँ तत्काल निर्माण व्यवसायीका लागि भुक्तानी गर्ने बताएका हुन्।

अर्थमन्त्री पुनले भने, ‘काम गरेर बक्यौता नपाएका निर्माण व्यवसायी सबै कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयमार्फत आउँछन् भने तत्काल ४० अर्ब भुक्तानी गर्नेमा छौँ।’

बाह्य सूचक राम्रो रहेपनि आन्तरिक बजार चलायमान हुन नसक्दा अर्थतन्त्र शिथिल बनेको स्वीकार्दै मन्त्री पुनले निर्माण व्यवसायीका लागि ४० अर्ब तत्काल रकम निकासा गर्दा आन्तरिक बजारलाई त्यसले चलायमान बनाउने बताए।

उनले अर्थतन्त्रमा आफ्नै प्रकारका तरलता लगायतका विविध समस्याहरू आइरहने उल्लेख गर्दै नेतृत्वमा बसेकाहरू डराउन नहुने र समस्या समाधानमा लाग्नुपर्ने चर्चा गरे।

उनले भने, ‘एक वर्ष अगाडि बजारमा तरलताको समस्या थियो अहिले आएर तरलता धेरै भयो कहाँ खर्च गर्ने भन्ने छ। यी समस्याहरू आइराख्छन्। हामी नेतृत्व लिएर बसेकाहरू डराउने होइन, व्यवस्थापन गर्ने हो।’

तरलताको समस्या हल गर्नुपर्नेमा जोड दिँदै उनले कार्यक्रममा उपस्थित राष्ट्र बैंकका गर्भनर र विज्ञलाई लक्षित गर्दै थपे, ‘तरलता कम हुँदा कसरी व्यवस्थापन गर्ने विज्ञहरू तपाईं हुनुहुन्छ, जान्नुभएको छ। त्यस्तै तरलता बढी हुँदा हिजो कडाइ गरेका कुन ठाउँमा खुकुलो गर्ने, क्याप्टिङलाई सजिलो गर्नुपर्ने कुरामा राष्ट्र बैंक र नियामक निकायले सोच्ने हो।’

बैंकहरूमा थुप्रिएको पैसा बजारमा पुगेर रोजगारी सिर्जना होस् र जनताको हातमा पैसा पुगोस् साथै राजश्व वृद्धि होस भन्ने चाहेको उल्लेख गरेका पुनले राष्ट्र बैंकसँग प्रतिस्पर्धा होइन, सरकार समन्वय र सहकार्य र सन्तुलन गरेर अघि बढ्ने बताए।

पुनले भने, ‘हामी झगडा गर्न र एक अर्कालाई माथि देखाउन मैले राम्रो गरेँ अर्कोले गल्ती गर्यो भन्नलाई होइन। समग्र राष्ट्रको समस्या भएकाले त्यसलाई सन्तुलन गरेर अगाडि बढ्न लाग्ने हो। तरलता कम भएकाले कहाँ–कहाँ कुन क्षेत्रलाई निरुत्साहित गर्ने, बढी हुँदा कहाँ–कहाँ खुकुलो गर्ने, सार्वजनिक वृत्तको चाप घटाउन कहाँ के गर्ने यी कुरामा हामी रचनात्मक ढंगले सहयोग र आपसी समन्वयात्मक रूपमा काम गर्ने हो।’

चैत ३, २०८० शनिबार १२:४०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।