सिद्धबाबा सुरुङ मार्गकाे निर्माण ०८३ चैतभित्रै सकिन्छ : उपप्रधानमन्त्री महासेठ

सिद्धबाबा सुरुङ मार्गकाे निर्माण ०८३ चैतभित्रै सकिन्छ : उपप्रधानमन्त्री महासेठ

बुटवल : उपप्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा निर्माण भइरहेको सुरुङ मार्ग ०८३ चैतभित्रै सम्पन्न हुने बताएका छन्।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६औं डिष्ट्रिक कन्फ्रेन्सको बुटवलमा उद्घाटन गर्दै मन्त्री महासेठले अहिले कामको गति तीव्र भएको भन्दै ०८३ चैतभित्रै सुरुङ निर्माण सम्पन्न गराउन आफूले भूमिका खेल्ने बताए।

‘यो आयोजनालाई समयमै सम्पन्न गर्न/गराउनुका साथै आवश्यक बजेटको कमी हुन नदिन मेरो पहल हुनेछ’, उनले भने।

साथै उनले बुटवल नारायणगढ सडक पनि छिटो सम्पन्न हुने बताए। आयोजना समयमै सम्पन्न नहुँदा आलोचना खेप्नुपरेको स्मरण गर्दै उनले सडक निर्माणका क्रममा हुने गरेका बाधा सवै हटेको भन्दै अब द्रुत गतिमा सडकको प्रगति देखिने बताए।

साथै उनले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकको निर्माणको काम पनि अब छिट्टै नै अगाडी बढ्ने बताए। मन्त्री महासेठले बुटवल बेलहिया सडक र भैरहवा लुम्बिनी सडकमा अलपत्र पारेका पुलहरूको निर्माण सम्पन्न गर्न पनि निर्देशन दिइसकेको बताए।

तीन दिनसम्म चल्ने रोटरी डिष्ट्रिक कन्फ्रेन्समा डिष्ट्रिक अन्तर्गत १५६ क्लबका १ हजार ७ सय बढी सदस्य सहभागी रहेको कन्फ्रेन्स चेयर एजाज आलमले जानकारी दिए।

कन्फ्रेन्समा रोटरी इन्टरनेश्नलको प्रतिनिधिका रूपमा अष्ट्रेलियाबाट डेनिस सोरको समेत सहभागिता रहेको छ।

चैत २, २०८० शुक्रबार १८:२२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।