सुन तस्करीको लहरो : पूर्व सभामुख, एआईजीदेखि अध्यागमन पूर्व प्रमुखसम्म कारवाहीको दायरामा, अर्थमन्त्रीलाई उन्मुक्ति

सुन तस्करीको लहरो : पूर्व सभामुख, एआईजीदेखि अध्यागमन पूर्व प्रमुखसम्म कारवाहीको दायरामा, अर्थमन्त्रीलाई उन्मुक्ति

काठमाडौं : ब्रेक शु र भेपमा लुकाएर भएको सुन तस्करी घटनामा पूर्व सभामुख कृष्णबहादुर महरादेखि सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यसम्म तानिएका छन्।

उच्चस्तरीय आयोगको प्रतिवेदनमा भेप सुन प्रकरणमा महराको संलग्नता खुलाएको हो। अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसमेत कारबाहीको दायरामा तानिएका छन्।

अनुसन्धानमा बदनियत गरेको भन्दै प्रतिवेदनमा केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवर समेत कारबाही सिफारिस सूचीमा तानिएका छन्।

सुन तस्करीमा जोडिएका जीवन चलाउनेले दिएको बयान कागज नस्ट गरेको र भगाएकोमा उनीहरू तानिएका हुन्। चलाउनेसँग पूर्व प्रहरी प्रमुख शर्वेन्द्र खनाल समेत जोडिएका छन्।

भेपको आवरणमा भएको सुन तस्करीमा कृष्णबहादुर महरासँगै, उनको छोरा राहुल महरा, पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको छोरा दीपेश पुन, जीतेन्द्र पुन र वर्तमान अर्थमन्त्री वर्षमान पुनका भाइ प्रनिश पुन मगरसम्म जोडिएका थिए

राहुल बाहेक अन्यले सीआईबीको अनुसन्धानमा उन्मुक्ति पाएका थिए। राहुल प्रतिवादी बने। दीपेश अनुसन्धानको दायरामा त तानिए तर सामान्य बयानकै आधारमा उन्मुक्ति पाए। जीतेन्द्र अनि प्रनिश पुनसहित वर्षमान पुन औपचारिक अनुसन्धानमा समेत तानिएका थिएनन्।

सुन तस्करीको आरोपमा फरार रहेका जीवनकुमार गुरुङ पक्राउ परेपछि अनुसन्धानको क्रममा उनीसँग अर्थमन्त्री पुनको बाक्लो सम्बन्ध खुलेको छ। तर, आयोगले यसबारे अध्ययन नगरी प्रतिवेदन बुझायो।

भन्सार विभागको अनुसन्धानमा रहेका गुरुङको कल डिटेलको अनुसन्धानमा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म अर्थमन्त्री पुन र गुरुङबीच ११ पटक फोन सम्पर्क भएको खुलेको थियो।

सुन तस्करीमा प्रत्यक्ष संलग्न पुष्टि भएका दावा छिरिङ र अमला रोकाको वर्षमानको परिवारसँग प्रत्यक्ष संलग्न देखिए पनि वर्षमानको परिवारका कुनै व्यक्ति अनुसन्धानमा तानिएका छैनन्।

होटेल सञ्चालनको आवरणमा अवैध धन्दामा संलग्न बेल्जियमका नागरिक दावा छिरिङसँग नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारीहरूको सम्बन्ध खुले पनि उनीहरू कोही पनि अनुसन्धानको दायरामा तानिएका थिएनन्। 

पूर्व आईजी शर्वेन्द्र, उनको साथी सुवु केसी समेत अनुसन्धानको दायरामा तानिएका छन्। फरार रहेका चलाउनेले सुवुको खातामा २० हजार अमेरिकी डलर राखेका थिए। उनी अमेरिकामा बस्छन्।

चैत २, २०८० शुक्रबार ११:५९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।