गृहमा रिजल्ट देखाउन लामिछानेको जोडबल, ९० दिनमा हरेक सूचक माथि उठाउन निर्देशन

गृहमा रिजल्ट देखाउन लामिछानेको जोडबल, ९० दिनमा हरेक सूचक माथि उठाउन निर्देशन

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताले अनुभूति गर्ने र सबैले देख्ने गरी काम गर्न निर्देशन दिएका छन्।

मन्त्रालयअन्तर्गतका सुरक्षा अधिकारीहरूलाई बिहीबार एकैसाथ भर्चुअल संवादमार्फत् गृहमन्त्री लामिछानेले विशेष गरी अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य र फरार अपराधी पक्राउ गर्ने काममा रिजल्ट देखिने गरी काम गर्न निर्देशन दिएका हुन्।

मन्त्री लामिछानेले ९० दिनमा मन्त्रालयका हरेक सूचकहरूमाथि माथि उठाउन निर्देशन दिएका छन्।

‘अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ। गएन भने गम्भीर समीक्षा हुन्छ। काममा आलटाल गर्ने, निर्देशनको पालना र लक्ष्य पूरा नगर्नेको मूल्याङ्कन हुन्छ’, उनले भनेका छन्।

मन्त्री लामिछानेले गृह मन्त्रालयले काम गर्न सक्यो भने नागरिकले सरकार छ भनेर अनुभूति गर्ने भएकाले पनि मातहतका निकायले जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन्।

‘यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ। हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं। समाज बस्न लायक हुँदैन, सहज रूपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निराश हुन्छ,’ उनले भनेका छन्, ‘अहिलेको अवस्था त्यही हो। यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो।’

उनले आफ्नो निर्देशनमात्रै भन्दा पनि टिमको सदस्यका रूपमा योजनाबद्ध र प्रभावकारी काम गर्न चाहेको बताए।

‘समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरू चिन्दै हुनुहुन्छ भने सुधारमा केही समस्या हुँदैन। मेरोतर्फबाट कानून पालना गर्ने पूर्ण अधिकार तपाईंलाई छ,’ उनले भने, ‘कानूनको पूर्ण कार्यान्वयन गर्नुहोस्। कानूनभन्दा माथि कोही पनि हुन सक्दैन।’

उनले गृह मन्त्रालयमा नेतृत्व फेरिएको महसुस नागरिकले तत्कालै पाउनुपर्नेमा जोड दिए।

‘गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ। कति दिन रहन्छु थाहा छैन। जति रहन्छु राम्रो गर्छु,’ उनले भनेका छन्, ‘नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन।’

उनले निषेधित क्षेत्र घोषणाले लोकतन्त्रको भद्दा मजाक भएको बताएका छन्।

‘सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो। सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन। अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस्,’ उनले भने, ‘होइन उनीहरूले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानूनले जे भन्छ त्यही गर्नुस्।’

चैत २, २०८० शुक्रबार ११:३९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।