ताप्लेजुङमा केबलकार निर्माणको लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

ताप्लेजुङमा केबलकार निर्माणको लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

काठमाडौं : ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघ-संस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका छन्।

ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघले केवलकार निर्माणको वातावरण बनाई समृद्ध ताप्लेजुङको सम्भावनामा इँटा थप्न सबै सम्बद्ध पक्षसँग संयुक्त रूपमा अपिल गरेका हुन्।

अपिलमा पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर रहेको तथा सो शक्तिपिठमा नेपालको मात्र नभएर छिमेकी मुलुक भारत तथा विभिन्न मुलुकहरूबाट समेत त्यहाँका धेरै सम्प्रदायका नागरिकहरू दर्शन तथा पूजाका लागि आउने गरेकोले यस क्षेत्रको विकासमा थप योगदान गर्नुपर्ने समय आएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

'ताप्लेजुङमा स्थापित पाथीभरा मुकुम्लुङ सबैको साझा आस्थाको धरोहर हो। सबै धर्म र जातजातिको आस्थाको केन्द्र यो शक्तिपीठमा नेपालको मात्र नभएर छिमेकी भारत तथा विभिन्न मुलुकहरुबाट समेत दर्शन तथा पूजाका लागि आउने गरेको तथ्य हामी सबैमा सर्वविदितै छ', विज्ञप्तिमा भनिएको छ, 'केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनमार्फत ताप्लेजुङको अर्थतन्त्र चलायमान भएको प्रत्यक्ष अनुभूत गरेका छौँ। अहिले सो क्षेत्रमा वर्षेनि करिब २ लाख भक्तजन आउने गरेका छन्।' 

निजी क्षेत्रले पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि गरी ताप्लेजुङमा व्यावसायिक अवसरहरुको सिर्जना गर्नु अत्यन्तै जरुरी भएको उल्लेख गरेको छ। 

ताप्लेजुङमा केबलकार सञ्चालनमा आएपछि जिल्लाको अर्थतन्त्र चलायमान हुने र रोजगारीलगायतका विभिन्न अवसर सिर्जना हुने यहाँका निजी क्षेत्रको भनाइ छ।

 

चैत १, २०८० बिहीबार २१:२४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।