घेरामा गृहमन्त्री : संसद्मा कांग्रेस, सडकमा सहकारी पीडित

घेरामा गृहमन्त्री : संसद्मा कांग्रेस, सडकमा सहकारी पीडित

काठमाडौँ : सरकारमा नयाँ गठबन्धन निर्माण भए लगत्तै प्रमुख प्रतिपक्षी दल बनेको नेपाली कांग्रेसले प्रारम्भदेखि नै सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेलाई घेराबन्दी सुरु गरिसकेको छ। बिहीबारको प्रतिनिधि सभाको बैठकमा समेत कांग्रेसका सांसदहरूले सहकारी ठगीमा प्रहरीको अनुसन्धानको घेरामा रहेका व्यक्ति गृहमन्त्री रहेको भन्दै प्रश्न उठाएका थिए।

संसद्मा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसददेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म’ आफूसँग आए प्रधानमन्त्री बनाउन राजी तर अर्कोसँग भए गलत’ भन्दै प्रतिरक्षा गरेका थिए।

सदनमा कांग्रेसले रविको मुद्दालाई थप चर्काउँदै लगेर राजीनामा गराउने रणनीति देखिन्छ। बिहीबारबाट अब सहकारी पीडित सडकमा समेत आएका छन्।  देशभर छरिरहेका सहकारी पीडितहरू बिहीबारबाट काठमाडौँ आएर संयुक्त विरोध प्रदर्शन सुरु गरिसकेका छन्।

उनीहरूले बिहीबार काठमाडौँको विभिन्न स्थानमा विरोध प्रदर्शन गरे। उनीहरूले बिहीबार कालीमाटी, गोङ्गबु नयाँ बसपार्क, शंखपार्क, सिफलचौर र जावलाखेलबाट प्रदर्शन सुरु गरेर भृकुटीमण्डपमा पुगेर कोणसभा गरेका थिए।

उनीहरूले ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाही र बचत रकम फिर्ताको माग गरिरहेका छन्। करिब ६ सय १ सहकारी संस्थाका पीडितहरू काठमाडौँ आएका छन्। सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घले काठमाडौँ केन्द्रित दबाबमूलक कार्यक्रमको आयोजना गरेको हो।

सहकारी ठगीमा रविको कनेक्सन

गृहमन्त्री रवि ग्यालेक्सीको सञ्चालकमध्ये एक रहँदा सो टेलिभिजनको मातृ संस्था गोर्खा मिडियाले विभिन्न सहकारीबाट अवैध रूपमा लिएको ऋणसँग जोडिएका छन्।

सहकारी ठगीमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई मुख्य रूपमा जोडिएका छन्। उनी फरार छन्। सोही समूहका कुमार रम्तेल भने पुर्पक्षका लागि कारागारमा छन्।

पोखराको सुर्यदर्शन सहकारी पीडितहरूले दोस्रो पटक दिएको पूरक निवेदनमा उनको समेत नाम छ। शुर्यदर्शनबाट अवैध रूपमा ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको कम्पनीको नाममा ऋण प्रवाह भएको खुलेको थियो।

सो सहकारीबाट रविको नाममा समेत ऋण प्रवाह भएको सार्वजनिक भएको थियो। तर रविले सो ऋण आफूले नलिएको दाबी गर्दै आएका छन्।

बुटवलको सुप्रिम सहकारी समेत जीवी राई समूहकै हो। सो सहकारीमा समेत रवि जोडिएका छन्। सहारा. सानोपाइला, काठमाडौँको स्वर्णलक्ष्मी लगायतका जीवी राई जोडिएका सहकारीका बचतकर्ताहरूले समेत रकम फिर्ता पाएका छैनन्। जीवी राई जोडिएका सहकारीहरूबाट १६ अर्ब बढी रकम अपचलन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। त्यसमा ग्यालेक्सी टेलिभिजन समेत जोडिँदै आएको छ।

चैत १, २०८० बिहीबार १८:०५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।