‘गौशाला २६’ नाबालिग भएको भन्दै सन्दीपविरुद्व उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन, १३ वर्ष कैद सजायको माग

‘गौशाला २६’ नाबालिग भएको भन्दै सन्दीपविरुद्व उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन, १३ वर्ष कैद सजायको माग

काठमाडौं : जिल्ला अदालत काठमाडौंबाट बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलले पनि पुनरावेदन गरेको छ।

उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बुधबार पुनरावेदन गरिएको उच्च अदालतका सूचना अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए।

सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय नभएको जिकिर गरेको छ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै गएको पुस २५ गते आठ वर्ष कैद, तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति हुने फैसला गरेको थियो।

सन्दीपबाट बलात्कार ठहर भएकी ‘गौशाला २६’ नाबालिग भएको दाबी गरिए पनि काठमाडौं जिल्ला अदालतले तेस्रोपटक मगाएको जन्मदर्ताको कागजअनुसार बालिग भएको ठहर गरेको थियो।

सरकारी वकिलले उनी बलात्कारमा परेका बखत नाबालिग भएकाले सन्दीपलाई १३ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरेको छ। काठमाडौं जिल्ला अदालतको फैसला बदर हुनुपर्ने सरकारी वकिलले माग दाबी गरेको छ।

बालिग ठहर भएर पनि आफूमाथि सजाय भएको भन्दै सन्दीपले फैसला बदरको माग दाबीसहित यसअघि नै पुनरावेदन गरिसकेका छन्।

चैत १, २०८० बिहीबार १६:४१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।