दुई दिनमै हलबाट उतारिएको फिल्मका निर्मातालाई आक्रमणको धम्की!
काठमाडौं : शुक्रबार हलमा लागेर आइतबार नै उतारिएको फिल्म ‘काँडेतार’का निर्माता तथा निर्देशक नवल खड्कालाई आक्रमणको धम्की आएको छ।
फिल्म ‘काँडेतार’को विषयलाई लिएर खड्कामाथि आक्रमणको धम्की आएको नेपाल चलचित्र निर्माता संघले जनाएको छ।
संघका वरिष्ठ उपाध्यक्ष उदय कुमार ईङ्गनामले निकालेको विज्ञप्तिमा फिल्मको विषयलाई लिएर एक व्यक्तिले सार्वजनिक रूपमै निर्माता खड्कालाई भौतिक आक्रमण गर्ने तात्पर्यको अभिव्यक्ति दिइएको उल्लेख छ।
फिल्मकर्मीमाथि खुलेआम रूपमा धम्किपूर्ण अभिव्यक्ति दिनु विधिको शासन विपरीत, संविधानको खिलाफ र स्रष्टाको सृजनाप्रति घोर अपमान रहेको समेत तर्क गरेको छ।
साथै विज्ञप्तिमा फिल्ममा जातीय द्वेष फैलाउने, छिमेकी देशप्रति नकारात्मक सन्देश प्रवाह हुने कुनै दृश्य र भाषा नरहेको समेत स्पष्ट पारेको छ।
फिल्मको देखाइएको विषयवस्तुप्रति आपत्ति जनाउँदै तराईका जिल्लाका हलवालाहरूले फिल्म प्रदर्शन नगर्ने बताएका थिए।
छायांकन अघिदेखि नै विवादमा आएको फिल्मका निर्देशकसमेत रहेका खड्काले आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भन्दै सुरक्षा माग गरेको बताएका छन्।
चैत १, २०८० बिहीबार ०९:०९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।