महासंघका अध्यक्ष ढकालले युएई र मङ्गोलियाका राजदूतसँग नेपालमा लगानी प्रवर्द्धन गर्न गरे आग्रह

महासंघका अध्यक्ष ढकालले युएई र मङ्गोलियाका राजदूतसँग नेपालमा लगानी प्रवर्द्धन गर्न गरे आग्रह

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मङ्गोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन्।

बुधवार ढकालले युएईका राजदूत अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँग भेटवार्ता गरेका थिए।

भेटमा नेपाल र दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

नेपालमा वैशाख २८ र २९ गते नेपाल लगानी सम्मेलन हुँदैछ। ढकालले दुवै देशका राजदूतलाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेका थिए।

युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताको लागि  धन्यवाद दिएका थिए।

ढकालले नेपालमा जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराएका थिए। भेटमा शम्सीले नेपाल र युएईबिच द्विपक्षीय लगानी सम्झौताको सम्भावनाबारे छलफल गरेका थिए।

३० फागुन, २०८०, २१:५५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।