तीन प्रदेशमा नियुक्त नयाँ प्रदेश प्रमुखलाई राष्ट्रपतिले खुवाए शपथ

तीन प्रदेशमा नियुक्त नयाँ प्रदेश प्रमुखलाई राष्ट्रपतिले खुवाए शपथ

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन प्रदेशका प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति निवासमा पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल समेत उपस्थित थिए।

केन्द्रमा सत्ताधारी गठबन्धन बदलिएसँगै सरकारले तीन प्रदेशमा रहेका प्रदेश प्रमुखहरू बदलेको थियो। प्रदेशमा सरकार जोगाउन नयाँ मन्त्रीहरू नियुक्त गर्नेक्रम सुरु भएसँगै मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

फागुन ३०, २०८० बुधबार १९:०५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।