१५ महिनाको बिचमा प्रतिनिधि सभामा ४० प्रतिशत खस्कियो प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वास

१५ महिनाको बिचमा प्रतिनिधि सभामा ४० प्रतिशत खस्कियो प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वास

काठमाडौँ :  २ सय ६८ को भारी विश्वासका साथ तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले बुधवार पनि विश्वासको मत पाउन सफल भए।

२०७९ मंसिर ४ को निर्वाचनपछि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समर्थनमा प्रधानमन्त्री बनेका उनले २०७९ पुस २६ मा प्रतिनिधि सभामा विश्वासको मत माग्दा पक्षमा २ सय ६८ मत परेको थियो। विपक्षमा जम्मा २।

उनले प्रतिनिधि सभाको एकै कार्यालयका बुधवार तेस्रो पटक प्रतिनिधि सभामा विश्वासको मत माग्दा पक्षमा १ सय ५७ मत पर्यो भने विपक्षमा  १ सय १० मत पर्यो।

उनलाई बुधवार आफ्नै पार्टी माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसँगै स्वतन्त्र सांसदहरूले विश्वासको मत दिए।

पहिलो पटक विश्वासको मत दिएका नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी अनि जनमत पार्टीले विपक्षमा मतदान गरे।

एमालेसहितको गठबन्धन तोड्दै प्रचण्डले कांग्रेसहितको दलसँग मिलेर सरकारलाई निरन्तरता दिए। गठबन्धनमा रहेका तीन दल एमाले, रास्वपा र राप्रपा बाहिरियो।

संवैधानिक प्रावधान अनुसार उनले दोस्रो पटक २०७९ चैत ६ गते पुन प्रतिनिधि सभामा विश्वासको मत मागे। त्यो बेलामा पक्षमा १ सय ७२ र विपक्ष ८९ मत परेको थियो।

सत्ता बाहिर रहे पनि रास्वपाले त्यो बेलामा प्रचण्डलाई विश्वासको मत दिएको थियो। फागुनमा आएर उनले पुन गठबन्धन बदल्दै सत्ता सहकार्यमा रहेको कांग्रेस छाडेर पुन एमाले अनि राष्ट्रिय स्वतन्त्र पार्टीतिर फर्किए।

जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी पनि मिसिए। अन्य दलहरू विश्वासको मत नदिने पक्षमा उभिँदा नागरिक उन्मुक्ति पार्टीमा श्रीमान्-श्रीमतीबीच झगडा चर्कियो। संरक्षक रहेका रेशम चौधरी विश्वासको मत नदिने पक्षमा भए पनि संसदीय दलको नेताको रूपमा रञ्जिता श्रेष्ठले पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्विप जारी गरिन्।

कांग्रेस, राप्रपा, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी भने विपक्षमा उभिए। प्रधानमन्त्री प्रचण्डले १५ महिनाको बिचमा तीन पटक प्रतिनिधि सभामा आफ्नो नेतृत्वको सरकारको विश्वासको परीक्षा गर्दा बहुमत त पूर्याए तर विश्वासको प्रतिशत हरेक पटक घट्दै गएको देखिन्छ।

पहिलो पटक प्रतिनिधि सभामा रहेका लगभग ९९ प्रतिशत सदस्यहरूबाट विश्वासको मत पाएका उनले तेस्रो पटक करिब ५९ प्रतिशत सदस्यको मात्र विश्वास पाए। करिब १५ महिनाको बिचमा उनले लगभग प्रतिनिधि सभामा रहेका सदस्यहरूमध्ये ४० प्रतिशत सांसदको विश्वासको मत पाएनन्।

फागुन ३०, २०८० बुधबार १७:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।