तेस्रोपटक विश्वासको मत पाए प्रधानमन्त्री प्रचण्डले, विपक्षमा ११० मत

तेस्रोपटक विश्वासको मत पाए प्रधानमन्त्री प्रचण्डले, विपक्षमा ११० मत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीबीचको पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन्।

बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सहभागी २६८ सांसदमध्ये १५७ मत पक्षमा र ११० मत विपक्षमा खसेको थियो। १ सांसद तटस्थ रहे।

प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।

आफूलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही अनुसार अघिल्लो गठबन्धन टुटेसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ।

यसअघि गत वर्ष १० पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुस ०७९ मा पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला उनले ९८ प्रतिशतभन्दा बढी अर्थात् २६८ मत पाएका थिए। त्यसबेला दुई जनाले मात्र विपक्षमा मत हालेका थिए।

त्यसपछि पछि फागुनमा नेपाली कांग्रेससँगको गठबन्धन ब्यूँतिएपछि एमालेले समर्थन फिर्ता लिँदा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ६ चैतमा विश्वासको मत लिएका थिए। त्यसबेला १७२ पक्षमा र विपक्षमा ८९ मत खसेको थियो।

फागुन ३०, २०८० बुधबार १५:५७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।