शेखर-गगन समूहलाई संकेत गर्दै प्रधानमन्त्रीले भने- 'कांग्रेसका विचार समूहहरूको द्वन्द्वले आजित थिएँ'

शेखर-गगन समूहलाई संकेत गर्दै प्रधानमन्त्रीले भने- 'कांग्रेसका विचार समूहहरूको द्वन्द्वले आजित थिएँ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो एक वर्षमा कांग्रेसभित्रका विचार समूहहरूको द्वन्द्वबाट आफू आजित भएको बताएका छन्।

बुधबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो एक वर्षमा कांग्रेस भित्रका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताए।

उनले गठबन्धनमा गरेको परिवर्तन गरेसँगै कांग्रेस भित्र आन्तरिक एकता भएको बताए। उनले नेपाली कांग्रेस भित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताए।

कांग्रेस भित्रको शेखर-गगन समूहलाई लक्षित गर्दै उनले भने, 'पछिल्लो एक वर्षमा कांग्रेसभित्रका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले म आजित भएको थिएँ। तर आज मैले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा म खुशी छु। म नेपाली काँग्रेसका नेता साथीहरूलाई र सबैलाई विशेष रुपमा भन्न चाहन्छु की यो एकता प्रचण्डका कारणले भएको छ। देशको लोकतन्त्रलाई बलियो बनाउन सुदृढ गर्न सहयोग पुग्छ। नेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भयो भने म खुशी नै हुन्छु।'

उनले नेपाली कांग्रेसको समर्थनमा आफू एकपटक मात्रै प्रधानमन्त्री भएको र कांग्रेस-माओवादी केन्द्रको समर्थनमा काँग्रेसबाट दुईपटक प्रधानमन्त्री बनेको बताए।

फागुन ३०, २०८० बुधबार १२:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।