सय करोड पारिश्रमिक लिने प्रभाष, सुटिङ सेटमा आफ्नै पैसा खर्च गर्छन्

सय करोड पारिश्रमिक लिने प्रभाष, सुटिङ सेटमा आफ्नै पैसा खर्च गर्छन्

एजेन्सी : ‘बाहुबली-२’ को सफलता पछि प्रभास सुपरस्टार मात्र मानिएका छैनन्, उनलाई सफल चलचित्रको मन्त्र पनि मानिएको छ। अहिले निर्माता-निर्देशक उनका लागि लाइन लगाएर उभिएका छन्।

‘बाहुबली’का लागि प्रभासलाई २५ करोड (भारतीय रुपैयाँ) पारिश्रमिकका रूपमा दिइएको थियो। त्यसपछि उनले क्रमशः आफ्नो पारिश्रमिकमा ५ प्रतिशत वृद्धि गरेका छन्।

उनले पछिल्लो फिल्म 'सालार'को लागि सय करोड पारिश्रमिक लिएका थिए।

महंगो पारिश्रमिकसँगै उनको स्टारडमका बारेमा जोकोही जानकार छन्, तर उनको एक विशेषता भने सायदै कमैलाई थाहा होला।

उनी निर्मातामाथि आफ्नो खर्चको अतिरिक्त भार थोपर्दैनन्। त्यो खर्च उनी आफैंले तिर्छन्। प्रभासको आफ्नो पारिश्रमिक र उनको हुने खर्च फरक छ। जब प्रभासलाई कुनै फिल्मको पारिश्रमिक मिल्छ, त्यो बेला उनी एक रुपैंया पनि अतिरिक्त रकम माग्दैनन्।

उनी अन्य कलाकार भन्दा ठिक विपरीत छन्। ती कलाकारहरू मेकअप आर्टिस्ट, मेनेजर र सहायकका लागि अतिरिक्त पैसा मागिरहँदा प्रभास भने आफ्नै गोजीको पैसा दिन्छन्।

प्रभास सुटिङमा आफ्नै कारमा आउँछन्। उनी टिमको कारमा चढ्दैनन्। यद्यपि उनको प्रोडक्सनले उनका लागि अतिरिक्त रकमको व्यवस्था गरेका हुन्छन्। तर प्रभास त्यो पैसा लिँदैनन्।

‘अधिकांश स्टारहरू फिल्मको काम गरिरहँदा आफ्नो गाडीको ड्राइभरको पारिश्रमिकसमेत निर्माताबाट लिन्छन्। तर प्रभास यस्तो केही गर्दैनन्। उनी आफैं खाना मगाउँछन्। बडी डबल्स र बाउन्सरलाई पनि आफ्नै खल्तीको पैसा दिन्छन्। प्रभासको जस्तो व्यवहार अन्य कलाकारमा देखिँदैन। त्यसकारण निर्माताले उनीप्रति जहिल्यै राम्रो व्यवहार गर्छन्’, प्रभास निकट स्रोतले भनेको छ।

कामको कुरा गर्दा प्रभासको पछिल्लो फिल्म ‘सालार’ले बक्सअफिसमा राम्रो कमाई गरेको थियो। अहिले उनी ‘कल्की २८९८’मा व्यस्त छन्।

यसबाहेक उनी ‘सालार २’को पनि तयारी गरिरहेका छन्।

फागुन ३०, २०८० बुधबार १०:४८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।