आफूहरूले भनेको नमानेपछि आग्लोले हानेर बुबाको हत्या, छोरा र बुहारी पक्राउ

आफूहरूले भनेको नमानेपछि आग्लोले हानेर बुबाको हत्या, छोरा र बुहारी पक्राउ

काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका बुबाको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ परेका छन्।

५५ वर्षीय बुबा भरतबहादुर नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना नेपाली रहेका छन्।

‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकोमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो’, प्रनाउ खड्काले भने, ‘शव परीक्षण प्रतिवेदन र अभियुक्तहरूको बयानका आधारमा उनीहरूको संलग्नता पाइएकाले मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरमा कारबाहीका लागि अनुसन्धान अघि बढाएका छौँ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले गत बिहीबार मध्यरातमा ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ।

ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए। त्यसपछि देखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष ती अभियुक्तले बयान दिएका छन्।

फागुन ३०, २०८० बुधबार १०:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।