वडा अध्यक्षलाई जातीय विभेदित शब्दले गाली गरेका थिए, अनुसन्धानका लागि प्रहरीको हिरासतमा छन्

काठमाडौं : कालिकोटमा जनप्रतिनिधिलाई जातीय गाली-गलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा सान्नित्रिवेणी गाउँपालिका -८ स्वास्थ्य चौकी मुम्रामा कार्यरत अहेव २८ वर्षीय तपेन्द्र बुढालाई प्रहरीले पक्राउ गरेको हो।
सोही गाउँपालिका -९ का वडाध्यक्ष नरपति तिरुवालाई फागुन २७ गते जातीय विभेदित शब्द बोल्दै गाली गरेको आरोपमा पीडित तिरुवाले सोमबार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए। सोही आधारमा प्रहरीले घटनाको अनुसन्धानका लागि पक्राउ गरी बुढालाई हिरासतमा राखेको हो।
जनप्रतिनिधि माथि नै जातीय विभेद भएको भन्ने पीडितबाट उजुरी आएपछि अनुसन्धानको लागि आरोपितको घरबाटै गिरफ्तार गरिएको कालिकोटका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर पोषण थापाले जानकारी दिए।
छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०७५’ को दफा ५ को उपदफा ७ क र ख ले जातीय विभेदको कसुर ठहर भएमा कसुरको मात्र हेरी दुई महिनादेखि तीन वर्ष कैद र बीस हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
साथै, सार्वजनिक पद धारण गरेको व्यक्तिबाट कसुर भएमा ५० प्रतिशत थप हुने व्यवस्था रहेको छ।
फागुन २९, २०८० मंगलबार २०:३३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।