महिला सांसद र पत्रकारलाई अहिले पनि ‘ह्यारेसमेन्ट’​​​​​​​ गरिन्छ, अगाडि बढ्न दिइँदैन : उपसभामुख

महिला सांसद र पत्रकारलाई अहिले पनि ‘ह्यारेसमेन्ट’​​​​​​​ गरिन्छ, अगाडि बढ्न दिइँदैन : उपसभामुख

काठमाडौं : प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजदेखि संसदसम्मै महिला हिंसा कायम रहेको बताएकी छन्।

मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उनले संसदमा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने बताइन्।

महिला पत्रकार र सांसदलाई उस्तै जोखिम रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘महिला सांसदहरूलाई अहिले पनि हिंसा गरिन्छ। महिला पत्रकारलाई पनि उत्तिकै गाह्रो छ। बलात्कार गरिन्छ, ह्यारेसमेन्ट गरिन्छ, अगाडि बढ्न दिइँदैन। समाजका लागि आवाज उठाइरहेका महिला सांसद तथा निडर र निर्भीक भएर डटिरहेका पत्रकारका लागि राज्यले सोच्ने बेला आएको छ।’

त्यस्तै, उपसभामुख रानामगरले कतिपय मानिसहरूले प्रतिनिधिसभामा उपसभामुखको कुनै भूमिका हुँदैन भन्ने गरेको उल्लेख गर्दै उपसभामुख भएर गर्न सकिने कामहरू सडकमा कराएर गर्न नसकिने बताइन्।

उनले भनिन्, ‘मैले सरकारको पाँच पैसा नखाइकन कयौं बच्चाहरूलाई हुर्काएकी छु। मेरो मेहनतले शून्यबाट सुरू गरेको हुनाले आज मैले जुन पद पाएकी छु, यो मेरो लागि महत्वपूर्ण उपलब्धि हो जस्तो मलाई लाग्छ। यहाँ बसेर म जुन काम गर्न सक्छु यति काम सडकमा कराएर हुँदैन। धेरैले भन्ने गर्नु भएको छ संसदमा उपसभामुखको खासै काम हुँदैन, सभामुखले आराम गर्दा, खाजा खाँदा काम लाग्ने पद हो। तर मलाई यस्तो लाग्दैन। म एउटा संवैधानिक परिषद्की सदस्य हुँ।’

फागुन २९, २०८० मंगलबार १८:४२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।