अगस्त्य र रंगेली निर्देशकले भित्र्याए नयाँ शैली, हलमा फिल्म चल्दाचल्दै आधा घण्टाको सिन चैट

अगस्त्य र रंगेली निर्देशकले भित्र्याए नयाँ शैली, हलमा फिल्म चल्दाचल्दै आधा घण्टाको सिन चैट

काठमाडौँ : फिल्म निर्माणको सबै प्रक्रिया टुङ्गिएपछि सेन्सर बोर्डले अनुमति दिने अनि फिल्म रिलिज गर्ने कानुनी प्रक्रिया हो। छायाङ्कनको सबै काम सकिएपछि सम्पादन, कलरिङ लगायतका इन्डोरका प्राविधिक काम सक्काए फिल्म रिलिज हुने हो।

तर पछिल्ला दुई फिल्मले भने उल्टो काम गर्दै हलमा फिल्म रिलिज भएपछि दर्शकले ‘कति स्लो फिल्म, लामो पनि भो’ भनेर आलोचना गरेपछि झन्डै आधा घण्टा बढिको दृश्य काटेर फिल्म प्रदर्शन गरिरहेका छन्।

पहिलो फिल्म हो ‘अगस्त्य’। यो फागुनको १८ गते रिलिज भएको थियो। यो २ घण्टा ५० मिनेट लामो थियो। पहिलो हाफ यति स्लो छ कि दर्शकलाई टिक्नै हम्मे पर्छ। दोस्रो हाफमा यति ट्विस्ट मिसाइएको छ कि चक्करै लाग्छ।

प्रिमियरमै फिल्मको कमजोरीबारे प्रतिक्रिया आएपछि निर्माण टिम पुन सम्पादनतिर जुटेर रिलिज भइसकेको फिल्मको झन्डै २० मिनेटको सिन काटेर मिल्काए। फिल्मको अन्त्यतिर राखेको सात मिनेट बढी न्यारेसन नै यो फिल्मको सबैभन्दा कमजोर पक्ष थियो। सम्पादनमा त्यो न्यारेसन चैं के गरे कुन्नि!

‘अगस्त्य’ को भन्दा भिन्न कथा तथा उस्तै परिवेश र जनराको फिल्म रङ्गेली यही शुक्रवार रिलिज भयो। यसको पनि समस्या अति लामो अनि अति स्लो। ग्याङस् अफ रङ्गेली नाम मात्र नराखेको फिल्म ग्याङस् अफ वासेपुरको क्यारेक्टर र केही सिन ट्वाक्क साभार गरिएको फिल्मले पनि नकारात्मक प्रतिक्रिया पायो दर्शकबाट।

लामो उस्तै अनि कता कता के के देखाएर निर्देशक अलमलिएको फिल्म भन्ने प्रतिक्रिया आएपछि हलमा चलिरहेकै बेलामा यसको निर्माण टिमले पुन सम्पादन गरेर दुई घण्टा ५५ मिनेट लामो फिल्मलाई २ घण्टा ३० मिनेटमा झारे।

अँ सम्पादन गर्दा त्यो ग्याङस्अफ वासेपुरमा रहेको मनोज बाजपेयी र दुर्गा क्यारेक्टरबीचको हेराहेरको सट ट्वाक्क यता राखेको सिन चैं कटिङमा पर्यो कि परेन होला!

रंगेलीसँगै रिलिज भएको फिल्म उपहारले फिल्मको हलमै रहेको बेलामा एउटा गीत रिलिज गर्यो तर फिल्मै सम्पादन चैं गरेको छैन है अहिलेसम्म।

अहिले हलमा यी तीन फिल्मबीचै प्रतिस्पर्धा देखिन्छ। दोस्रो हप्तामा चलिरहेको अगस्त्य र रंगेलीले ३५ हाराहारीको शोहरु पाइरहेको छ भने उपहारले ४०। अर्को फिल्म काँडेतार हलबाट उत्रिसक्यो।

फागुन २९, २०८० मंगलबार १५:५४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।