राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित, एकीकृत समाजवादी र वामदेव गौतमले पनि गरे दाहाललाई मतदान

राष्ट्रियसभा अध्यक्षमा दाहाल निर्वाचित, एकीकृत समाजवादी र वामदेव गौतमले पनि गरे दाहाललाई मतदान

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतदानमा कांग्रेसका उमेदवार युवराज शर्मालाई हराउँदै दाहाल अध्यक्ष चुनिएका हुन्।

सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्यो। शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो।

दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादीसहित एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मतदान गरेका थिए।

मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गरे।

पराजित शर्माका पक्षमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले मतदान गरे।

एक मत रहेको राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ बसे, दुवै उमेदवारलाई मतदान गरेनन्।

राष्ट्रियसभा अध्यक्षमा निर्वाचित दाहाल नातामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन्। दाहाल राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद हुन्।

५९ संसदीय राष्ट्रियसभामा अहिले ५८ सांसद छन्।

फागुन २९, २०८० मंगलबार १३:५७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।