राष्ट्रियसभा उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी, एमाले तयार भएपछि माधव नेपालले गरे हस्ताक्षर

राष्ट्रियसभा उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी, एमाले तयार भएपछि माधव नेपालले गरे हस्ताक्षर

काठमाडौं : सत्तासाझेदार दलबीच नयाँ सहमति भएको छ।

फागुन २१ गते भएको आठ बुँदे सहमतिलाई परिमार्जन गर्दै एकीकृत समाजवादीसहितलाई समेटेर सात बुँदे सहमति गरिएको छ।

फागुन २१ गते एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आठ बुँदे सहमति भएको थियो।

मंगलबार संशोधित सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीका मागहरू पूरा भएको भन्दै हस्ताक्षर गरेको बताइएको छ।

नयाँ सहमतिमा पहिले भएको सातौँ बुँदा हटाइएको छ।

चार दलबीच भएको सहमतिको सातौँ बुँदामा भनिएको थियो, 'यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने।'

त्यस्तै, अघिल्लो सहमतिपत्र ३ नम्बर बुँदामा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो। तर, अहिलेको सहमतिमा एमालेले उपाध्यक्ष पाउने कुरा उल्लेख छैन।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार राष्ट्रियसभा उपाध्यक्षबारे छलफल गर्न एमाले तयार भएपछि संशोधनसहित नयाँ सहमति भएको हो।

‘हामीले त्यो पदमा दाबी गरेका छौं। एमाले पनि छलफल गर्न सकारात्मक भएपछि संशोधन गरिएको हो’, उनले भने।

फागुन २९, २०८० मंगलबार १३:३८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।