उपहार : आधुनिक मुना-मदनको तानतुन कथा
निर्देशक ज्ञानेन्द्र देउजाको विशेषता समाजको नाडी छापेर कथालाई प्रभावकारी बनाउन सक्नु हो। फिल्मको फ्रेम अनि कथा भन्ने शैलीमा उनको आफ्नै सिग्नेचर देखिन्छन्। दर्शक वा परिवेश बदलिँदैमा कथा झ्याउँलाग्दो हुन सक्दैन, त्यो त कसरी प्रस्तुत गरिन्छ भन्नेमा भर पर्छ भन्ने उनले झिँगेदाउँ फिल्मको सफलताबाट पुष्टि गरिसकेका थिए।
तर ‘उपहार’ निर्देशनको चरणमा उनको सिग्नेचर अलि किरमिर देखियो। उनले दृश्यमार्फत जुन ग्रामर समातेर कथा पस्कँदै आएका थिए, उपहारमा ग्रामरका ‘स्पेलिङ’हरू मिस्टेक देखिए।
निर्देशक समेत भइसकेकी अभिनेत्री रेखा थापा फिल्म उपहारमा अभिनेत्रीको मात्र भूमिकामा देखिएकी छिन्। तर फिल्म निर्देशनमा उनको प्रभावको झल्को देखिन्छ उपहारमा। उनले बनाएका अघिल्ला फिल्म ‘लंका, रावण, काली, हिम्मतवाली, रामप्यारी, रुद्रप्रिया’ मा आफै हिरो बनेकी थिइन्। उपहारमा तीन युवतीको कथा समानान्तर रूपमा अगाडि बढाउने प्रयास गरिएको छ।
उपहारमा शहरी गरिबहरूमाथि परिवर्तनको गफ दिनेहरूले गरेको अत्याचारको कथालाई समेत समेट्ने प्रयास गरिएको छ। दृश्य राख्नुको उद्देश्य शहरी धनीहरूको मात्रै गरिबहरुको पनि शहर हो र गच्छे अनुसार जीविकोपार्जनको अवसर पाउनुपर्छ भन्ने देखाउने भए पनि कतै बालेन्द्र शाहको विरोध गरिएको फिल्म भनेर प्रचार भयो भने बालेन फ्यान रिसाएर फिल्मको व्यापारमा ब्याक फायर होला कि भनेर निर्देशक सन्तुलनतिर लागेको देखिन्छ।
टुहुरी मुना (रेखा थापा) र ट्याक्सी चालक मदनको प्रेम, श्रीमानसँग डिभोर्स गरेकी निशा (बेनिशा हमाल) र विदेश जाने चक्करमा रहेकी पूजा (पूजा शर्मा) को सङ्घर्ष नै फिल्मको मूल कथा हो।
समर्पणजंग कार्की, तेज गिरी, शिशिर राणालगायतका कलाकारले यी तीन मुख्य पात्रहरूको कथालाई अगाडि बढाउन सघाएका छन्।
'सुगर ड्याडी'को भूमिकामा रहेका शिशिर राणाको चरित्र बाध्यतावश आफूभन्दा धेरै उमेरका पुरुषको यौन इच्छा पुरा गर्न प्रेमीका बन्न बाध्य कलिला युवतीको कथा प्रस्तुत गर्न भन्दा फिल्ममा हाँस्यरस बढाउन बढी केन्द्रित देखियो।
निर्देशक देउजाले फिल्ममा गम्भीर विषय उठाउने प्रयास गरेसँगै फिल्मलाई मनोरञ्जन बनाउन भरपूर हाँस्यरसका मसलाहरू पनि घोलघाल पारेका छन्। उनी गम्भिर विषय प्रस्तुत गर्नमा भन्दा दर्शक हँसाएर मुड फ्रेस बनाउन बढी सफल देखिए।
मनमा आँट अनि सङ्घर्ष गर्न सक्ने हिम्मत छ भने भुइँ मान्छेले पनि आर्थिक उन्नती गर्न सक्छन् भन्ने सन्देश मुना पात्रमार्फत दिने प्रयास गरेका छन् निर्देशकले। १२ पास गरेपछि विद्यालयबाट विदाईहुँदा साथीहरूको सर्टमा सन्देश लेख्दा’ नेपालमा रोजगार पाइँदैन साथी अब खाडीमा भेटौँला’ भनेर लेखिएको सत्य सन्देश फिल्ममा अटेको छ।
निशाको चरित्रमा रहेकी बेनिशामार्फत निर्देशकले श्रीमान् महिलाको सबैथोक हैनन् सहयात्री मात्रै हुन्, महिला पनि आत्मनिर्भर हुन सक्छन् भन्ने सन्देश दिने प्रयास गरेका छन्। पैसा कमाउन विदेश हिँडेकाहरू सकुशल स्वदेश फर्कने ग्यारेन्टी हुन्न भन्ने सन्देश बोकेका छन् मदन बनेका मुकुनले। विदेश जान अहिलेका केही युवती कुन हदसम्म जान सक्छन् भन्ने कथा बोकेकी छिन् पूजाले।
तीन पात्रको तीन कथालाई एकै लाइनमा डोर्याउन निर्देशक चुक्दा कथा छरिन पुगेका छन्। महिलाको सङ्घर्षको कथादेखि विदेशमा वैदेशिक रोजगारीमा गएका युवाको व्यथासम्म, शहरका सम्पन्नदेखि विपन्नसम्मको अवस्था सबै एकै फिल्ममा अटाउन खोज्दा फिल्ममा कथा कतातिर गइरहेको हो भन्ने अलमल गराउँछ।
फिल्मको सुरुवातमा नै सिद्धार्थ बैँकसँगको कारोबार र बचतका लामो प्रसङ्गबाट गर्दा त्यसको नियत फिल्मको कथासँग जोडिएको हो कि बैङ्कको विज्ञापन हो भन्नेमै अलमल हुन्छ। चिया पसल खोल्न बैङ्कबाट ऋण लिने दृश्यमा यति धेरै बैङ्कको ब्रान्डलाई स्पेस दिन आवश्यक थियो र!
फिल्म सुरु भएको ७ मिनेटमै ‘कहिले गते बिर्सन्छु, कहिले बार बिर्सन्छु’बोलको गीत आउँछ। यो गीत किन आयो दर्शक ट्वाँ! गीतको कथासँग कुनै साइनो नै छैन। रेखाले फाइट सिनलाई उपहारमा पनि निरन्तरता दिएकी छिन्। तर शारीरिक अवस्थाले हो कि उनले फाइट खेलेको दृश्य सुहाएको छैन।
निकै बनावटी देखियो दृश्य। उनी गर्भवती अवस्थामै सुटिङ गरिएको फिल्म हो भन्ने फिल्मका अधिकांश दृश्यले प्रस्ट्याउँछ। रियलमा उनी गर्भवती नै हुन्। तर रिलमा त हैन। यसले पनि दर्शक कन्फ्युज हुने नै भए। तनावमा रहेकी मुनालाई फ्रेस बनाउन डाँडामा लगेर चिच्याउन लगाएको दृश्यले निर्देशकको मनोविज्ञानको ज्ञानको स्तर देखाएको छ।
अभिनयतर्फ समर्पणजंग कार्की कमजोर देखिए। पूजा शर्माको ओभर एक्टिङको डोजहरू छुटेको छैन यसमा पनि। छुच्ची क्यारेक्टरमा रहेकी सुष्मा कार्की चरित्र अनुसार फिट देखिएकी छिन्। रेखा थापाको अभिनय ठिकै देखिएको छ। तेज गिरीको अभिनय मध्यम छ। बेनिशाको अभिनयमा केही सुधार देखिन्छ।
अभिनेता मुकुन भुषालको पनि अभिनय ठिकठिकै छ।
विष्णु घिमिरे कल्पितले खिचेको दृश्य त्यति नराम्रो देखिएको छैन। ब्याकग्राउण्ड स्कोर कान बिझाउने खालको छैन। गीत सुमधुर छन्। तर धेरै भए।
निर्देशकले फिल्मको बिचबिचमा ट्विस्ट जोड्न कोसिस गरेका छन् तर त्यो पहिल्यै दर्शकले चाल पाइसक्छन्। कतिपय ठाउँमा सस्पेन्सको निर्माण गर्ने प्रयास गरे पनि सफल भएका छैनन्। फिल्मको पटकथा तथा संवाद औसत छन्।
ज्ञानेन्द्र देउजासँगको सहकार्यमा रेखाले दर्शकलाई गतिलै उपहार दिने प्रयास गरे पनि यो पटकलाई भने फिल्म उपहार सरप्राइज हुन सकेन। उही रोज डे मा फूल उपहार आउँछ भनेजस्तै दर्शकले रेखाको उपहार पहिल्यै सहजै अनुमान गर्न सक्ने तहको बन्यो।
फागुन २८, २०८० सोमबार १८:५५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।