अहिलेकालाई हटाएर तीन नयाँ प्रदेश प्रमुख पठाउने निर्णय, तीनैजना एमालेका

अहिलेकालाई हटाएर तीन नयाँ प्रदेश प्रमुख पठाउने निर्णय, तीनैजना एमालेका

काठमाडौं : सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश, मधेश र सुदूरपश्चिमको प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

मधेशमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए। उनीहरू तीनैजना कांग्रेसका हुन्।

प्रवक्ता शर्माका अनुसार रिक्त पदमा मधेश प्रमुखका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियालाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ।

नयाँ नियुक्तिका लागि सिफारिस गरिएका प्रदेश प्रमुखहरू तीनैजना  एमालेका हुन्।

प्रवक्ता शर्माले भनिन्, ‘हामीले बर्खास्त गरेको होइनौ, पदमुक्त गरेको हौं। प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक हुन्छ। अहिले हामीले प्रदेशहरूमा देखिरहेका छौं- कतै विश्वासको मत फिर्ता लिने कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ। त्यसकारण राजनीतिक रूपमा सहज होस्, केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान होस् भनेर हामीले गरेका हौं।’

 

फागुन २८, २०८० सोमबार १८:२८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।