‘बद्री बहादुर’को गीत रिलिजमा सलोन र पूजा नआएपछि जयकिसनले सुनाए ‘अभिनेत्रीसँगको लभ स्टोरी’
काठमाडौं : आगामी चैत्र २३ गतेबाट रिलिज हुने फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाई’ सार्वजनिक भएको छ।
सोमबार सिटीसी मलमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको गीत रिलिज गरिएको हो।
यस गीतमा मुख्य भूमिकामा रहेका सलोन बस्नेत, पूजा शर्मा नै अनुपस्थित रहे।
निर्माण टिमले ११ बजे पत्रकार बोलाएको थियो। पत्रकारहरू १ बजेपछि धमाधम हलमा उपस्थित भए। क्यामेरा बोकेर पुगेका पत्रकार तथा युटुबर पूजा र सलोनको अन्तर्वार्ता लिने मुडमा थिए। बाहिरै बसेका उनीहरूलाई निर्माण टिमले 'लु अब सुरू गरौँ' भन्दै १२ बजे हलमा उर्दी जारी गरे।
त्यसपछि उपस्थित पत्रकारहरू भित्र पसेर क्यामेरा तयार गर्न थाले। फिल्मका निर्देशक सोभित बस्नेत आफैं उद्घोषण गरिरहेका थिए।
उनले सहायक कलाकारहरूको नाम लिए। तर फिल्मको गीतमा देखिएका मुख्य कलाकारको नाम नै लिएनन्। उनीहरू हलमा आएकै थिएनन्।
गीतमा नाचेका कलाकार जयकिसन बस्नेतले फिल्म सुटिङका गर्दाका अनुभव र एक अभिनेत्रीसँगको एकोहोरो प्रेमको बारेमा कहानी बताउँदा हाँसोले हल गुन्जियो। उनले आफ्नो लभ स्टोरी किस्सा सुनाउँदै फिल्मको प्रमोसन गरे। उनले आफू एक अभिनेत्रीसँगको प्रेम प्रसंग सुनाउँदा उनका दाजु सोभितको हाँसो थामिएन।
गीत रिलिज सकिएपछि हलमा अधिवक्ता युवराज सफल आइडी कार्ड भिरेर उपस्थित भए। फिल्मको गीत नै नहेरेका उनले धमाधम प्रवचन दिए र बाहिरिए। तर, उनको प्रवचननै युट्युबको कन्टेन बन्यो।
सार्वजनिक गीतमा शिवम् अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा टंक र मिलन नेवारको स्वर रहेको छ।
यस गीतमा फिल्मका मुख्य कलाकार पूजा र सलोनका साथमा जयकिसन बस्नेत, राजीव बस्नेत, उत्तम केसी र छुल्ठिम गुरुङ लगायतले नाचेका छन्।
शिव विकको कोरियोग्राफी, विनोद सापकोटाले छायांकन गरेको यस फिल्मका कार्यकारी निर्माता पत्रकार तथा चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी रहेका छन्। फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो।
विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन्।
आरआर फिल्म्सले वितरण गर्ने फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो।
फागुन २८, २०८० सोमबार १६:५३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।