साउदीका लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आह्वान
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आह्वान गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी वेबिनारमा सम्वोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरुलाई सहज वातावरण बनाउन नेपाल सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरूका नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताए।
नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृर्षिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू सृजना भएको तर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका छन्।
नेपाल सरकारले आगामी १० वर्षमा २५ हजार मेगावट भन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। जलविद्युत उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युतमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गरे।
पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषताहरु भएकाले होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण दिँदै अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरूका लागि पर्यटन बजार पनि आकर्षण रहेको बताएका हुन्। सूचना प्रविधि र व्यावसायिक कृर्षिमा बढ्दो बजार मागले पनि लगानीकर्ताहरुलाई थप अवसरहरू सृजना गरी रहेकोले यसतर्फ ध्यान पुर्याउन पनि आग्रह गरे।
आगामी वैशाखमा हुन गइरहेको नेपाल लगानी सम्मेलनमा लगानीका प्रतिबद्धता सहित सहभागी हुन पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्ताहरुलाई आग्रह गरे।
फागुन २८, २०८० सोमबार १४:२३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।