उम्मेदवारी दर्तापछि नारायण दाहालको पत्रकारलाई आग्रह : प्रचण्डको भाइ भएर अवसर पायो नभन्नु ल!

उम्मेदवारी दर्तापछि नारायण दाहालको पत्रकारलाई आग्रह : प्रचण्डको भाइ भएर अवसर पायो नभन्नु ल!

काठमाडौँ : पारिवारिक नातावादका आधारमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनेको भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य नारायण दाहालले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ नभन्न आग्रह गरेका छन्।

राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दर्तापछि संसद् भवन नयाँ बानेश्वरमा रहेका पत्रकारहरूले ‘प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि’ भनेर सोध्दा उनले यस्तो आग्रह गरेका हुन्।

उनले पार्टीमा आफूले गरेको योगदानको आधारमा जिम्मेवारी पाएको दाबी गर्दै प्रचण्डको भाइ भएकै आधारमा मात्र अवसर नपाएको तर्क गरेका थिए।

उनले आफू पहिलो पटक संविधान सभाको सदस्यको उम्मेदवार बनेदेखि नै यस्तो सुन्दासुन्दै कान पाकिसकेको बताए। पार्टीभित्र समेत प्रचण्डको भाइ भएकाले अवसर पाएको भन्दै भएको टिप्पणीप्रति उनी रिसाए। उनलाई पार्टीले यस अगाडि बागमती प्रदेशको सह-इन्चार्ज बनाउन खोज्दा पार्टीभित्र विवाद भएको थियो।

उनले सो प्रसङ्ग समेत निकाल्दै पार्टीको सह इन्चार्जमा जाँदा पनि प्रचण्डको भाइ भएर अवसर पाएको भन्ने आरोप लाग्ने गरेको भन्दै प्रश्न सोधे ‘म २०३६ सालमा पार्टीमा प्रवेश गर्दा तपाईँ कति वर्षको हुनुहुन्थ्यो? जसलाई पार्टीमा कुन बेला कसरी लागेँ, युद्धमा म कहाँ कसरी खटेँ भन्ने थाहै छैन उसैले प्रश्न गर्दा त्यो कति न्यायसङ्गत हुन्छ?’

उनले आफू कुनै पार्टीको सिफारिसमा नभई राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभामा आएकाले निष्पक्ष भएर काम गर्ने दाबी समेत गरे।

फागुन २८, २०८० सोमबार १४:००:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।