तिनाउ किनारमा फोहोर फाल्न स्थानीयको अवरोध, फोहोर बोकेका १० ट्याक्टर फिर्ता
बुटवल : बुटवल उपमहानगरपालिकाले दिगो फोहोर व्यवस्थापन नगरी सिधा नदी किनारमा ‘डम्प’ गरेपछि स्थानीयहरू आक्रोशित भएका छन्। उपमहानगरमा संकलन भएको फोहोर अहिले तिनाउ नदी किनारमा व्यवस्थापन हुँदै आएको छ।
उपमहानगरपालिकाले बजार क्षेत्रबाट निस्कने फोहोरको दिर्घकालीन समाधान नखोजी चार वर्षदेखि बुटवल उपमहानगरपालिका–११ को सिरानगाउँ मजुवाको बस्ती नजिकै डम्पिङ गर्दै आएको छ।
पहिले हात्तीसुढ, पवित्रानगर लगायतका क्षेत्रमा फोहोर व्यवस्थापन हुने गरेकोमा उपमहानगरपालिकाले ४ वर्षअघि स्थानीयहरूलाई विकासको सपना देखाएर सिरानगाउँ मजुवामा फोहोर फाल्दै आएको छ।
स्थानीयसँग भएको सहमति विपरीत फोहोरमैला व्यवस्थापन भएपछि स्थानीयहरूले सोमबार उपमहानगरपालिकाबाट फोहोर ल्याएका १० वटा ट्याक्टरलाई फिर्ता पठाइदिएका छन्।
स्थानीय बाबुराम लम्सालले उपमहानगरपालिकाले विभिन्न प्रतिबद्धता जनाएर बस्ती नजिक फोहोर फालेपनि पूरा नगरेपछि बाध्य भएर ट्याक्टर फिर्ता पठाउनुपरेको बताए।
‘मानव स्वास्थ्यको ख्याल समेत नगरी फोहोर फाल्दा बस्ती पूरै दुर्गन्धित भयो। वातावरण प्रदूषण भयो। त्यसैले उपमहानगरपालिकालाई दवाव दिन यो कार्य गरेका हौँ’, उनले भने।
उपमहानगरपालिकाले फोहोर नदी किनारमा फाल्दा स्थानीयसँग बाटो बनाउने, पर्खाल बनाउने, स्थानीयको स्वास्थ्य नियमित चेकजाँच गर्ने, आर्थिक स्थिति कमजोर भएकालाई रोजगार दिने प्रतिबद्धता जनाएको थियो। तर, उपमहानगरपालिकाले बस्तीका लागि वर्षमा ५ लाख दिने र पर्खाल लगाउने बाहेक अरु कुनै पनि प्रतिबद्धता पूरा नगरेको स्थानीयको भनाइ छ।
‘अब दिर्घकालीन निकास निकाल्नुपर्छ। फोहोर फाल्ने हो भने कति समय फाल्ने हो, समय अवधि तोकिनुपर्छ। अन्यथा यहाँ फोहोर फाल्न दिँदैनौं’, स्थानीय लम्सालले भने।
नदी किनारमा डम्पिङ गरिएको फोहोर बेला–बेलामा जलाउँदा आँखा नै पिरो हुने र धुँवाको मुस्लोले बस्तीनै ढाकिने गरेको स्थानीयको भनाइ छ। सिरानगाउँ मजुवामा फोहोर फाल्दा त्यसबाट प्रत्यक्ष मजुवा, प्रवेशनगर, धुव्रनगर, दुर्गानगर, भगवती टोल, शिवालय टोल प्रभावित भएका छन्।
फोहोर डम्प गर्ने नजिकै सुर्योदय आधारभुत विद्यालय समेत छ। फोहोरको दुर्गन्धले विद्यार्थीहरूलाई समेत असर पुगेको छ। विद्यालयकी प्राचार्य शोभा ज्ञवालीले फोहोर व्यवस्थापन नगरौं भने पनि सुनुवाइ नभएको बताइन्। विद्यालय नजिक फोहोर फाल्ने विषयमा सबै जानकार भए पनि रोक्न तर्फ कसैले चासो नदिएको उनको भनाइ छ।
नदी किनारमा फाल्ने फोहोरबाट महामारी फैलनसक्ने डर भए पनि उपमहानगरपालिकाले यसलाई गम्भीर लिन सकेको छैन। यसअघिका नगरप्रमुख शिवराज सुवेदीकै कार्यकालदेखि त्यहाँ फोहोर फाल्न थालिएको थियो। नयाँ जनप्रतिनिधि आए पनि फोहोरको दिर्घकालीन समाधानबारे कुनै पहल गरेका छैनन्।
अहिले बुटवलको १ देखि ६ नंं वडासम्म ‘वातावरण सुन्दर नेपाल’ संस्थाले फोहोर उठाउने गरेको छ। त्यस्तै ७ र ८ को फोहोर बुटवल सरसफाइ सहकारी, वडा नं. ९ सामुदायिक विकास तथा वातावरण समिति र वडा नं. १० पनि समिति बनाएर फोहोर उठाउने गरिएको छ।
वडा नं. ११ मा भने टोल विकास संस्था, खानेपानी संस्थाहरूले फोहोर उठाएका छन्। वडा नं. १२ र १३ मा वातावरण सुन्दर नेपालले फोहोर उठाउने गरेको छ भने वडा नं. १४ देखि १९ सम्म उपमहानगरपालिकाकै कर्मचारीले फोहोर उठाउने गरेको छ।
त्यस बाहेक ठेक्कामा दिएको बुटवल कृषि थोक बजार केन्द्रभित्रको फोहोर वातावरण सुन्दर नेपालले उठाउने गरेको र हाटबजारको फोहोर उपमहानगरपालिका आफैँले उठाउने गरेको उपमहानगरपालिकाको सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बताए।
‘टोलहरूबाट गठित संस्थाहरूले फोहोर व्यवस्थापन गर्दै आउनुभएको छ। फोहोर संकलन गरेपछि सबैले ल्याउने मजुवामै हो’, उनले भने।
उनले मजुवामा स्थानीयले फोहोर फाल्न सोमबार रोकेको भन्दै मंगलबार साढे १० बजे स्थानीयसँग छलफल गरेर अगाडि बढ्ने समेत बताए।
‘हामीले स्थानीयसँग सल्लाह गर्दैछौँ। त्यसपछि फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने निचोड निस्कनेछ’ उनले भने।
उनले उपमहानगरपालिकाले वडा नं. १२ र १३ को सिमाना उत्तरतर्फ फोहोर व्यवस्थापनका लागि हेरिरहेको बताए। उनले अहिले नदी किनारमा फाल्ने फोहोरलाई दैनिक पुर्ने, झिँगा नलाग्न र महामारी फैलिन नदिन विभिन्न औषधिहरू सो ठाउँमा राख्ने गरेको दाबी गरे।
सधैँ खोलामै फोहोर
त्यसो त जनप्रतिनिधि नआउँदा पनि बुटवलले नदी किनारमै फोहोर डम्पिङ गर्दै आएको थियो। जसका कारण जग्गा उकासिएपछि धेरै क्षेत्रमा बस्ती नै बसेको छ। बुटवल उपमहानगरपालिकाले पहिला पटक २०५२ सालदेखि संस्थागत रूपमा फोहोर व्यवस्थापन गर्न सुरू गरेको थियो।
त्यो बेला उपमहानगरपालिकाले मैनाबगरमा फोहोर व्यवस्थापन गरेको थियो। तीन वर्षसम्म थुपारिएको फोहोरले पछि मैनाबगरको दक्षिण क्षेत्रमा जग्गा उकासियो। पछि ०५६ सालमा मैनाबगरमा अटो भिलेज बनाउने योजना ल्याएपछि उप महानगरपालिकाले खोलाको पूर्वतर्फ फोहोर थुपार्न थालेको थियो। अहिले दुई दशक भइसकेको छ।
सुरुवाती समयमा उप महानगरपालिकाले खयरघारी, पवित्रनगर, सुन्दरनगरमा फोहोर थुपारेको थियो। अहिले त्यो क्षेत्रमा सुकुम्बासी बस्ती रहेको छ। पुरानो बसपार्क पछाडि खयरघारीदेखि थुपार्दै गएको फोहोर अहिले लुम्बिनी वाणिज्य क्याम्पस पछाडिको हात्तीसुँढसम्म पुगेको छ।
बुटवलमा अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुँदै आएको छ। ७ वर्ष पहिलेसम्म यहाँ दैनिक ३२ टन मात्र फोहोर उत्पादन हुने गर्दथ्यो। जनप्रतिनिधि नआउँदै बुटवलमा फोहोर व्यवस्थापनको योजना आए पनि स्थानीयको अवरोधका कारण योजना कार्यान्वयनमा नगई फिर्ता भएको थियो। जसकारण अहिले फोहोर व्यवस्थापनमा चुक्नु परेको उपमहानगरको भनाइ छ।
बुटवल उपमहानगरपालिकाले र सिद्धार्थनगर नगरपालिकामा फोहोर व्यवस्थापनका दुई योजना फिर्ता भएका हुन्। एसियाली विकास बैंकसँग ऋण अनुदानका लागि सम्झौता भए पनि स्थानीयको विरोधपछि योजना फिर्ता भएका थिए।
बुटवल उपमहानगरपालिकाले सन् २०१० मा एडिवीसँग फोहोर प्रशोधन केन्द्रका २८ करोडको सम्झौता गरेको थियो। त्यसपछि फोहोर मैला प्रशोधन केन्द्रका लागि उप महानगरपालिकाले जेडआइइसी पप्पु जेभीसँग २५ करोड ६२ लाख ५३ हजार ५ सय ८४ रूपैयाँमा ठेक्का सम्झौता समेत गरेको थियो।
साविक बुटवल १५ को जितेश्वरी सामुदायिक बनमा योजना निर्माण गर्ने भनिए पनि स्थानीयको अवरोधपछि देविनगर र देविनगरमा पनि विरोध भएपछि देवदह नगरपालिकाको सिमाना जोडिएको शिवनगर सामुदायिक वनमा योजना निर्माण गर्ने भनिएको थियो।
शिवनगर सामुदायिक वन क्षेत्रमा ४ सय ८४ हेक्टर क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने गरी योजना तयार भए पनि दुईवटा नगरपालिकाबीच समन्वयको कमी र अस्तित्वको लडाइँका कारण सफल हुन सकेन। सम्झौता भएको आठ वर्षसम्म पनि जग्गा अभावमै उपमहानगरपालिका रन्थिनिएपछि उक्त परियोजनाबाट एडिवीले हात झिक्यो।
त्यस्तै सिद्धार्थनगरको ३२ करोडको योजना लागू नहुँदै फर्किएको थियो। सिद्धार्थनगरले छिमेकी स्थानीय तह ओमसतिया गाउँपालिकामा ६ विघा जमिन खरिद गरेर ल्याण्डफिल्ड साइट बनाउने योजना बनाएको थियो। तर, त्यहाँका स्थानीयले कुनै हालतमा योजना अघि बढाउन नदिने बताएपछि योजना फिर्ता भएको हो।
फागुन २८, २०८० सोमबार १३:०२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।